काठमाडौँ-
प्रधानमन्त्री वालेन्द्र शाह र सातै प्रदेशका मुख्यमन्त्रीहरूबीच आज दिउँसो सिंहदरबारमा महत्त्वपूर्ण सामूहिक छलफल हुँदैछ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दिउँसो २ बजे बस्ने तय भएको उक्त बैठक मुख्यगरी देशको विकास निर्माणमा देखिएका अवरोध हटाउन र प्रशासनिक उल्झनहरू सुल्झाउनमा केन्द्रित रहनेछ। पछिल्लो समय केन्द्र र प्रदेश सरकारबीच प्रभावकारी समन्वय हुन नसक्दा राष्ट्रिय प्राथमिकताका योजनाहरू अलपत्र परेको गुनासो आइरहेका बेला प्रधानमन्त्रीले सबै मुख्यमन्त्रीहरूलाई एकै ठाउँमा राखेर साझा रणनीतिको खोजी गर्न लाग्नुभएको हो।
बैठकमा देशभर सञ्चालित विकास निर्माणका आयोजनाहरूलाई तीव्रता दिने र राज्यका स्रोत–साधनको न्यायोचित बाँडफाँड सुनिश्चित गर्ने विषयमा घनीभूत छलफल हुने कार्यसूची रहेको छ। प्रदेशहरूले लामो समयदेखि भोग्दै आएका आर्थिक अभाव र कर्मचारी व्यवस्थापन लगायतका प्रशासनिक जटिलता समाधानका लागि प्रधानमन्त्री शाहले मुख्यमन्त्रीहरूको प्रत्यक्ष सुझाव लिने तयारी गर्नुभएको छ। विशेषगरी विकासका योजनाहरूमा रहेका कानुनी र व्यावहारिक अड्चन फुकाउँदै सरकारी सेवा प्रवाहलाई कसरी बढीभन्दा बढी जनमुखी बनाउन सकिन्छ भन्ने विषयमा बैठकले ठोस मार्गचित्र तय गर्ने अपेक्षा गरिएको छ।
यसका साथै, प्रधानमन्त्री शाहको मुख्य एजेन्डाको रूपमा रहेको सुशासन र भ्रष्टाचार नियन्त्रणको अभियानलाई प्रदेश तहसम्मै एकीकृत ढंगले लैजाने विषयमा पनि गम्भीर विमर्श हुनेछ। मुलुकको वर्तमान शिथिल अर्थतन्त्रलाई चलायमान बनाउन र पूर्वाधार विकासमा देखिएका नीतिगत समस्याहरू हल गर्दै संघीयताको कार्यान्वयनलाई थप मजबुत बनाउन यो बैठकले साझा समझदारी निर्माण गर्ने लक्ष्य राखेको छ। केन्द्र र प्रदेशबीचको आपसी अविश्वास अन्त्य गर्दै समृद्धिका लागि सहकार्यको नयाँ अध्याय सुरु हुने विश्वास समेत लिइएको छ।













