२०८३ बैशाख ८ गते, मंगलवार १३:००

बिहेको बाजा बज्दै गर्दा रगत बग्यो, कञ्चनपुरमा १८ वर्षीय युवकको हत्या

धनगढी –
खुसी र हर्षोल्लासले भरिएको विवाह समारोह एकाएक त्रासदीमा परिणत भएको छ। कञ्चनपुरको पुनर्वास नगरपालिका-५, भानुबस्तीमा बिहेमा सहभागी एक युवकको मध्यरातमै धारिलो हतियार प्रहार गरी हत्या गरिएको छ।

मृतक १८ वर्षीय उज्वल सायर  हुन्न। उनी विवाहको रमाइलोमा सहभागी भइरहेका बेला अचानक भएको झगडाले भयावह रूप लियो , र त्यसको अन्त्य उनको ज्यानै लिने गरी भयो।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी हेमबहादुर शाहीका अनुसार, गएराति करिब साढे १ बजेतिर विवाहस्थलमै विवाद चर्किँदा उज्वलमाथि धारिलो हतियार प्रहार गरिएको थियो। घटनास्थलमै रक्ताम्य भएका उनलाई तत्काल धनगढीस्थित माया मेट्रो अस्पताल पुर्‍याइयो, तर जीवनसँगको उनको संघर्ष लामो टिक्न सकेन। छातीमा लागेको गम्भीर चोटले अन्ततः उनको मृत्यु भयो।

घटनापछि गाउँ नै त्रसित बनेको छ। के कारणले यस्तो भयावह घटना भयो? कसरी एक खुसीको माहोल एकैछिनमा हिंसामा बदलियो? यी प्रश्नहरू अझै अनुत्तरित छन्। प्रहरीले घटनामा संलग्न भएको आशंकामा दुई जनालाई नियन्त्रणमा लिएको छ। तर उनीहरूको परिचय गोप्य राखिएको छ, जसले घटनालाई अझ रहस्यमय बनाएको छ।

घटनाको वास्तविक कारण र पृष्ठभूमि पत्ता लगाउन प्रहरीले अनुसन्धान तीव्र पारेको जनाएको छ।

पोडकास्ट सुन्नुहोस