वीरगन्ज-
नेपालबाट भारततर्फ प्रतिबन्धित लागूऔषध गाँजा ओसारपसार गरेको अभियोगमा पर्सा प्रहरीले चार जना भारतीय नागरिकलाई पक्राउ गरी सार्वजनिक गरेको छ।
वीरगन्जस्थित शंकराचार्य गेट नजिकै चेकजाँचका क्रममा प्रहरीले ६ किलोग्राम गाँजासहित चार जनालाई हिजो साँझ पक्राउ गरेको हो।
पक्राउ पर्नेमा भारत, बिहार राज्य अन्तर्गत पश्चिम चम्पारण जिल्लाको बेतिया नगरपालिका निवासी सफी अहमद, विजय बाकुर, मुकिम मियाँ र महम्मद इकवाल रहेका छन्। जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतका अनुसार उनीहरू नेपालबाट भारततर्फ पैदल जाँदै गर्दा शंकास्पद देखिएकाले चेकजाँच गरिएको थियो।
चेकजाँचका क्रममा उनीहरूले शरीरमा लुकाईछिपाई राखेको अवस्थामा प्रतिबन्धित लागूऔषध गाँजा बरामद भएपछि चारै जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
पक्राउ परेका व्यक्तिहरू २८ देखि ३५ वर्ष उमेर समूहका रहेका छन्। उनीहरूविरुद्ध लागूऔषध सम्बन्धी मुद्दा चलाउने तयारी भइरहेको प्रहरीले जानकारी दिएको छ।













