वीरगन्ज-
विवादास्पद गतिविधिका कारण पटक-पटक चर्चामा आइरहने वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सागरसम्शेर राणामाथि विभागीय कारबाहीको प्रक्रिया अगाडि बढाइएको छ। मधेस प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) गोन्दि थपलियालाई बदनाम गराउने षडयन्त्रमा संलग्न रहेको आरोपमा उनीमाथि कारबाही थालिएको हो।
सई राणाले धनुषाका व्यापारीहरूसँग फोन संवाद गरी डिआइजी थपलियाको छवि धमिल्याउने प्रयास गरेको र उक्त संवादका अडियोहरू सञ्चारमाध्यममा पुर्याउन भूमिका खेलेको प्रहरीको दाबी छ। संगठनको मर्यादा विपरित आफ्नै उच्च अधिकारीलाई लक्षित गरी षडयन्त्र बुनेको पाइएपछि मधेस प्रदेश प्रहरी कार्यालयले उनलाई निलम्बनका लागि सिफारिस गरेको छ।
मधेस प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) कमल थापाका अनुसार सई राणालाई निलम्बन गर्न प्रहरी प्रधान कार्यालयमा पत्राचार भइसकेको छ।संगठनको आचारसंहिता विपरीत आफ्नै माथिल्लो तहका अधिकारीलाई बदनाम गराउने कार्यमा संलग्न देखिएकाले सई राणालाई निलम्बन गर्न पत्र पठाइएको हो। छानबिन प्रक्रिया पूरा भएपछि प्रहरी महानिरीक्षक (आईजीपी) बाटै यसको अन्तिम निर्णय हुनेछ,” एसएसपी थापाले गोप्यखबर लाई जानकारी दिनुभयो।
यस विषयमा सई राणाले आफू अहिले नै निलम्बनमा नपरिसकेको तर प्रहरी प्रधान कार्यालयको उजुरी शाखाबाट यसबारे सोधपुछ भएको स्वीकार गरेका छन्। उनले सार्वजनिक भएको अडियो आफ्नै भए पनि आफूले सञ्चारमाध्यमलाई उपलब्ध नगराएको र आफू विरुद्ध षडयन्त्र भइरहेको दाबी गरेका छन्।
प्रहरी स्रोतका अनुसार यो घटना डिआइजी थपलिया र धनुषा प्रहरी प्रमुख रुगम कुँवरबिच लामो समयदेखि चल्दै आएको विवादको एउटा पाटो हुन सक्छ। बाहिरिएको अडियो काण्डमा कुँवरकै हात रहेको दाबीसमेत स्रोतले गरेको छ, जसले गर्दा मधेस प्रदेश प्रहरीभित्रको आन्तरिक विवाद झन् सतहमा आएको देखिएको छ।














