काठमाडौँ –
बजारमा चर्किएको एलपीजी ग्यास अभावबीच लागू गरिएको ‘आधा सिलिन्डर’ नीति अब टिक्ने संकेत देखिएको छैन। ग्यास व्यवसायीहरूले सरकारको निर्णयलाई खुला चुनौती दिँदै आगामी सोमबारदेखि पुनः १४.२ किलोकै पूर्ण ग्यास सिलिन्डर बजारमा ल्याउने घोषणा गरेका छन्।
मंगलबार बसेको ग्यास विक्रेता महासंघ र नेपाल एलपी ग्यास उद्योग संघको संयुक्त बैठकले उपभोक्तालाई पूरा तौलको ग्यास बिक्री-वितरण गर्ने निर्णायक कदम चालेको हो। महासंघका अध्यक्ष ज्ञानेश्वर अर्याल का अनुसार, ‘अब आधा सिलिन्डर होइन, उपभोक्ताले पुरै ग्यास पाउनेछन्।’
उनले डिजेलको मूल्यमा आएको अप्रत्याशित वृद्धिले ढुवानी खर्च असह्य बनाएको भन्दै सरकारको नीतिले व्यवसायी र उपभोक्ता दुवैलाई मार परेको बताए। “ढुवानी खर्च नपाए व्यवसाय सञ्चालनै कठिन हुन्छ,” उनले चेतावनी दिँदै सरकारलाई औपचारिक जानकारी दिने तयारी भइरहेको बताए।
व्यवसायीका अनुसार उद्योगहरूमा ग्यास मौज्दात पर्याप्त भए पनि आधा सिलिन्डर नीतिका कारण आपूर्ति प्रणाली नै अस्तव्यस्त बनेको छ। उपभोक्ताको घरघरमा आधा ग्यास भएका सिलिन्डर थन्किँदा भारतबाट आएका ग्यास बुलेटहरू अनलोड हुन नसक्ने अवस्था सिर्जना भएको छ। यसले आपूर्ति चक्र नै जाम भएको उनीहरूको दाबी छ।
“अहिले बुलेटहरू थन्किएका छन्, आयल निगम मौन बसिरहे दुई महिनामै ग्यासको हाहाकार हुन सक्छ,” अर्यालको चेतावनी छ।
व्यवसायीहरूले सरकारसँग पटक-पटक संवाद गरे पनि कुनै ठोस पहल नभएको गुनासो गरेका छन्। छिमेकी देशहरू भारत, भुटान र माल्दिभ्स ले आर्थिक स्थिरताका लागि इन्धन मूल्य नियन्त्रणमा राख्दा नेपालमा भने बेवास्ता भएको उनीहरूको आरोप छ।
यता नेपाल आयल निगम भने तत्काल अभाव नभए पनि सम्भावित संकटलाई ध्यानमा राख्दै सावधानी अपनाइएको बताउँदै आएको छ। तर, व्यवसायीहरूको यो कदमले अब ग्यास आपूर्ति र सरकारी नीतिबीच सीधा टकरावको अवस्था सिर्जना भएको छ।













