२०८३ बैशाख ९ गते, बुधबार १०:४१

नाकाबन्दी नहटाई युद्धविराम, ट्रम्पको ‘प्रेशर पॉलिटिक्स’

काठमाडौं –

मध्यपूर्वमा चुलिएको तनावबीच डोनाल्ड ट्रम्पले इरानसँगको अस्थायी युद्धविराम लम्ब्याउने घोषणा गरेका छन्। युद्ध रोकिने संकेत देखिए पनि अमेरिकाले इरानमाथिको नाकाबन्दी भने यथावत राख्ने स्पष्ट सन्देश दिएको छ अर्थात्, शान्ति र दबाब सँगसँगै अघि बढ्ने रणनीति।

ट्रम्पका अनुसार पाकिस्तान को आग्रहमा युद्धविराम थप गरिएको हो, ताकि वाशिङ्टन र तेहरानबीच आमनेसामने वार्ताको अर्को चरणका लागि समय मिलोस्। तर उनले अमेरिकी सेनालाई “ पूर्ण तयारी” अवस्थामा रहन निर्देशन दिँदै इरानी बन्दरगाहहरूमा नाकाबन्दी जारी रहने बताएका छन्।

यसले संकेत गर्छ “प्रत्यक्ष सैन्य कारबाही तत्काल नहुने भए पनि दबाबको घेराबन्दी अझै कडा रहनेछ। ट्रम्पले भनेका छन्, “इरानबाट स्पष्ट प्रस्ताव नआएसम्म र वार्ता टुंगोमा नपुगेसम्म युद्धविराम जारी रहनेछ, त्यसपछि मात्र थप कदम तय हुन्छ।”

असीम मुनीर र शाहबाज शरीफ ले पनि आक्रमण रोक्न आग्रह गरेको ट्रम्पको दाबी छ। उनले आफ्नो सामाजिक सञ्जाल ‘ट्रुथ सोसियल’ मार्फत इरानी नेतृत्वभित्र आन्तरिक विभाजन देखिएको टिप्पणी गर्दै छिट्टै “ठूलो सम्झौता” सम्भव रहेको संकेत दिएका छन्।

तर इरान बाट भने हालसम्म कुनै औपचारिक प्रतिक्रिया आएको छैन। बरु यसअघि इरानका विदेशमन्त्रीले अमेरिकी नाकाबन्दीलाई “युद्धकै रूप” भन्दै युद्धविरामको उल्लंघन भएको आरोप लगाएका थिए।

यता इरानी संसदका सभामुख मोहम्मद बागेर गालिबाफ का वरिष्ठ सल्लाहकार महदी मोहम्मदी ले ट्रम्पको घोषणालाई “अर्थहीन” भन्दै खारेज गरेका छन्।

यसरी युद्धविराम लम्बिए पनि भरोसाको वातावरण अझै टाढा देखिन्छ। अब सबैको नजर सम्भावित दोस्रो चरणको वार्ता र त्यसबाट निस्कने परिणामतर्फ केन्द्रित भएको छ । जहाँ शान्ति सम्झौता हुन्छ कि फेरि तनाव चर्किन्छ भन्ने निर्णायक मोड आउन सक्छ।

पोडकास्ट सुन्नुहोस