बि.चौहान
वीरगन्ज, –
पेट्रोलियम इन्धनको मूल्य निरन्तर बढ्दै जाँदा र डिजेल-पेट्रोलबाट चल्ने सवारी साधनको मर्मत खर्च महँगिँदै गएपछि नेपाली उपभोक्ता विद्युतीय सवारीतर्फ तीव्र रूपमा आकर्षित भएका छन्। यही प्रवृत्तिको प्रभाव स्वरूप नेपालकै प्रमुख व्यापारिक नाका वीरगन्जबाट विद्युतीय सवारी साधनको आयातमा उल्लेखनीय वृद्धि देखिएको छ।
वीरगन्ज भन्सार कार्यालयका अनुसार चालु आर्थिक वर्षको नौ महिनामा विद्युतीय जिप, कार, भ्यान, मोटरसाइकल तथा तीन पांग्रे सवारी साधनको आयात ५६ प्रतिशतले बढेको छ। यस अवधिमा मात्रै २ अर्ब ९७ करोड रुपैयाँ बराबरका १२ हजार ४९८ वटा विद्युतीय सवारी साधन आयात भएका छन्। गत आर्थिक वर्षको सोही अवधिमा १ अर्ब ४९ करोड रुपैयाँ बराबरका ८ हजार १३ वटा मात्र सवारी आयात भएका थिए।
तथ्यांकअनुसार समग्रमा ४ हजार ४८५ वटा थप सवारी साधन आयात हुँदा आयात मूल्यमा समेत ३२ प्रतिशतको वृद्धि देखिएको छ।
श्रेणीगत विवरण हेर्दा विद्युतीय जिप र कारको आयातमा सबैभन्दा ठूलो उछाल देखिएको छ। गत वर्ष ४८ करोड रुपैयाँ बराबरका १७२ वटा जिप-कार आयात भएकोमा चालु वर्षमा यो संख्या बढेर २ अर्ब ४६ करोड रुपैयाँ बराबरका ४९३ वटा पुगेको छ, जुन १८७ प्रतिशतको वृद्धि हो।
त्यस्तै, विद्युतीय मोटरसाइकलको आयात पनि तीव्र रूपमा बढ्दै गएको छ। गत वर्ष ५५ करोड रुपैयाँ बराबरका ४ हजार २२७ वटा मोटरसाइकल आयात भएकोमा चालु वर्षमा ९६ करोड रुपैयाँ बराबरका ७ हजार ३९८ वटा मोटरसाइकल आयात भएका छन्, जसमा ७५ प्रतिशत वृद्धि देखिन्छ।
तीन पांग्रे विद्युतीय सवारी साधनको आयात पनि बढेको छ। गत वर्ष ४५ करोड रुपैयाँ बराबरका ३ हजार ६१३ वटा आयात भएकोमा चालु वर्षमा ५३ करोड रुपैयाँ बराबरका ४ हजार ६०६ वटा आयात भएका छन्, जसमा २८ प्रतिशतको वृद्धि भएको छ।
वीरगन्ज भन्सार कार्यालयका सूचना अधिकारी उदय सिंह विष्टका अनुसार विद्युतीय सवारी साधनप्रतिको माग बढ्नुको मुख्य कारण इन्धनको मूल्य वृद्धि, कम सञ्चालन खर्च र सजिलो मर्मत व्यवस्था हो।
उहाँका अनुसार परम्परागत इन्धनबाट चल्ने सवारी साधन तुलनात्मक रूपमा महँगो मात्र होइन, मर्मतसम्भार पनि झन्झटिलो हुने भएकाले उपभोक्ताको झुकाव विद्युतीय सवारीतर्फ तीव्र रूपमा बढिरहेको छ।













