वीरगन्ज-
वीरगन्जस्थित प्रतिष्ठित भिस्वा होटेलमा मङ्गलबार राति तेस्रो लिङ्गीहरूको एक समूहले उग्र उपद्रव मच्चाएको छ । राति करिब १ बजे भएको उक्त घटनाका कारण होटेलमा चलिरहेको एउटा वैवाहिक समारोह नै बिथोलिने स्थिति सिर्जना भएको थियो ।
प्रत्यक्षदर्शीका अनुसार प्रतिमा चोकदेखि इनर्वा बाइपास क्षेत्रसम्म शंकास्पद गतिविधिमा संलग्न रहँदै आएको भनिएको उक्त समूह सामान्य विवादलाई निहुँ बनाएर होटेलसम्म पुगेको थियो । समूहले होटेलको मुख्य गेटमा ढुङ्गामुढा र तोडफोड गरी जबर्जस्ती भित्र प्रवेश गरेको थियो । होटेलभित्र पसेपछि उनीहरूले अशोभनीय व्यवहार प्रदर्शन गर्दै जन्ती र पाहुनाहरूलाई त्रसित बनाएका थिए ।
विवाहमा सहभागी महिलाहरूका अनुसार उक्त समूहको उद्देश्य केवल विवाद मात्र नभई गरगहना लुट्ने समेत देखिएको थियो । “हामी विवाहको खुसीमा थियौँ, तर एक्कासि आएको समूहले डरलाग्दो वातावरण बनायो, गहना लुट्ने र कुटपिट गर्ने प्रयास भयो,” एक सहभागीले पीडा पोखिन् । केही घण्टासम्म विवाह मण्डप रणमैदान जस्तै बनेको थियो ।
स्थिति नियन्त्रण बाहिर गएपछि वडा प्रहरी कार्यालय श्रीपुरबाट प्रहरी निरीक्षकको नेतृत्वमा टोली घटनास्थल पुगेको थियो । सुरुमा प्रहरीले सम्झाउन खोजे पनि उक्त समूहका व्यक्तिहरू उल्टै प्रहरीमाथि नै हातपातमा उत्रिएका थिए । त्यसपछि थप मद्दत मगाएर प्रहरीले लाठीचार्ज गरी समूहलाई तितरबितर पारेको थियो । प्रहरीले उपद्रवमा संलग्न केही व्यक्तिहरूलाई नियन्त्रणमा लिएको छ ।
स्थानीय बासिन्दाहरूका अनुसार बिरगञ्जको बाइपास क्षेत्रमा यस्ता समूहहरूको गतिविधि निकै बढ्दै गएको छ । रातिको समयमा सर्वसाधारणलाई रोकेर लुटपाट गर्ने, कुटपिट गर्ने र अभद्र व्यवहार गर्ने घटना बारम्बार भइरहे पनि प्रशासनले प्रभावकारी कदम नचालेको स्थानीयको आरोप छ ।
आज होटेलभित्रै छिरेर यत्रो उपद्रव मच्चाउनुले सुरक्षा व्यवस्था कति फितलो छ भन्ने देखाउँछ,” एक स्थानीयले भने, “समयमै यस्ता समूहलाई तह नलगाए वीरगन्जमा ठुलो दुर्घटना हुन सक्छ ।”













