२०८३ बैशाख १८ गते, शुक्रबार ०८:४७

१८ वर्षपछि खुल्यो रहस्य: आफ्नै बुबाको हत्या गरी फरार अभियुक्त चितवनबाट पक्राउ

रौतहट –

करिब दुई दशकअघि घटेको एक भयावह घटनाको पर्दाफास अन्ततः भएको छ। आफ्नै बुबाको निर्मम हत्या गरी १८ वर्षदेखि फरार रहेका एक व्यक्तिलाई प्रहरीले चितवनबाट पक्राउ गरेको छ।

पक्राउ पर्नेमा रौतहटको गरुडा नगरपालिका-१ (साबिक जयनगर गाविस-४) निवासी ४९ वर्षीय राम विलास महतो रहेका छन्। लामो समयदेखि लुकिछिपी बस्दै आएका उनलाई जिल्ला प्रहरी कार्यालय रौतहटको टोलीले सूक्ष्म अनुसन्धानपछि चितवनबाट नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार २०६४ साल जेठ २० गते राति महतोले आफ्नै ६५ वर्षीय बुबा विश्वेश्वर महतो कोइरीको गोठघरमै हातखुट्टा बाँधेर धारिलो हतियार प्रहार गरी निर्मम हत्या गरेका थिए। घटना त्यसबेला रहस्यमय बनेको थियो, तर अनुसन्धानले अहिले चकित पार्ने तथ्य उजागर गरेको छ।

प्रारम्भिक अनुसन्धान अनुसार हत्या पछाडिको मुख्य कारण ऋण र जग्गा विवाद रहेको देखिएको छ। राम विलासले गाउँका विभिन्न व्यक्तिसँग ठूलो ऋण लिएका थिए भने जग्गा सम्बन्धी मुद्दा अदालतमा चलिरहेको थियो। आर्थिक दबाबबाट मुक्त हुन उनले योजनाबद्ध रूपमा आफ्नै बुबाको हत्या गरी विपक्षीहरूलाई ‘ज्यान मुद्दा’मा फसाउने षड्यन्त्र रचेको खुलेको छ। उनको सोच थियो,यदि विपक्षीहरू जेल परे, ऋण तिर्नु नपर्ने र जग्गा विवाद पनि आफ्नो पक्षमा सुल्झिने।

घटनापछि शंका नलागोस् भनेर उनी स-परिवार फरार भएका थिए। तर प्रहरीले वर्षौंदेखि खोजतलास जारी राख्दै अन्ततः २०८३ वैशाख १६ गते उनलाई चितवनमा फेला पारी पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय रौतहटका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक विष्णु प्रदीप बस्यालले पक्राउ परेका महतोमाथि आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको जानकारी दिएका छन्।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस