२०८३ बैशाख १८ गते, शुक्रबार ०९:५०

सरकारी कागज किर्ते गरेको अभियोगमा वीरगन्जका व्यपारि नवीनकुमार अग्रवाल पक्राउ

नक्कली कागजकै भरमा १०० टन छोकडा भित्र्याउने दाउमा थिए आग्रवाल

वीरगन्ज-

देशकै प्रमुख व्यापारिक नाका वीरगन्ज फेरि एकपटक ठूलाे आर्थिक जालसाजीको घटनाले तरंगित बनेको छ। प्रतिबन्धित ‘छोकडा’ आयात गर्न सरकारी कागज नै किर्ते गर्ने योजनासहित अघि बढेका एक व्यवसायीलाई प्रहरीले पक्राउ गरेको छ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का अनुसार ५५ वर्षीय नवीनकुमार अग्रवाल,जो वीरगन्ज महानगरपालिका-११ का स्थायी बासिन्दाहुन्न उनलाई आदर्शनगरबाट नियन्त्रणमा लिइएको हो। उनी सिमभिन इन्टरनेसनल इम्पेक्सका सञ्चालकसमेत हुन्।

अनुसन्धानले देखाएको छ,अग्रवालले वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग को नक्कली लेटरहेड, छाप र हस्ताक्षरसम्म दुरुपयोग गर्दै १०० टन छोकडा आयातका लागि ‘झुटो अनुमति पत्र’ तयार पारेका थिए। सोही कागजात लिएर उनले वीरगन्ज भन्सार कार्यालय मा प्रक्रिया अघि बढाएका थिए।

तर, वीरगन्ज भन्सारमा सामान आइपुगेपछि शंका उत्पन्न भयो। कागजातको सत्यता जाँच गर्दा सबै प्रक्रिया किर्ते भएको पुष्टि भएपछि यो ठूलो खेल उजागर भएको हो। त्यसपछि भन्सारले सामान जफत गर्दै प्रहरीलाई खबर गरेको थियो।

सरकारले २०७६ चैत २४ गतेदेखि छोकडा आयातमा पूर्ण प्रतिबन्ध लगाइसकेको अवस्थामा पनि यस्तो जालसाजी प्रयास हुनु गम्भीर विषय बनेको छ। अझ प्रारम्भिक अनुसन्धानले अग्रवाल यसअघि पनि यस्तै गतिविधिमा संलग्न रहेको संकेत गरेको छ।

हाल उनीमाथि मुलुकी अपराध संहिता, २०७४ अन्तर्गत लिखत सम्बन्धी कसुरमा अनुसन्धान जारी छ। पक्राउका लागि काठमाडौँ जिल्ला अदालतबाट अनुमति लिइएको सीआईबीले जनाएको छ।

यो घटनाले विशेषगरी वीरगन्ज नाकामा हुने व्यापारिक गतिविधिमा निगरानी अझ कडा बनाउनुपर्ने आवश्यकता औंल्याएको छ । जहाँ सानो त्रुटिले ठूलो आर्थिक अपराधलाई बाटो खोल्न सक्छ।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस