काठमाडौँ –
नेपाल भ्रमणमा रहेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत सर्जियो गोर र प्रधानमन्त्री बालेन शाहबीच भेटवार्ता नहुने भएको छ। बिहीबारदेखि तीन दिने नेपाल भ्रमणका क्रममा काठमाडौँ रहेका गोरले शुक्रबार अन्य मन्त्रीहरूसँग भेटघाट गर्ने तालिका रहे पनि प्रधानमन्त्रीसँगको भेट भने तय नभएको हो।
प्रधानमन्त्रीका प्रेस विज्ञ दीपा दाहालका अनुसार प्रधानमन्त्री शाह आन्तरिक सुशासनका काममा व्यस्त रहेका कारण यो भेटघाट कार्यक्रम नराखिएको हो। प्रधानमन्त्री शाहले आफ्नो कार्यकालमा अहिलेसम्म कुनै पनि विदेशी कूटनीतिज्ञहरूसँग व्यक्तिगत वा एक्लै भेटवार्ता नगरेको दाहालले जानकारी दिइन्।
यसअघि, चैत १३ गते प्रधानमन्त्रीमा नियुक्त भएलगत्तै शाहले नेपालमा रहेका सबै विदेशी कूटनीतिज्ञहरूसँग सिंहदरबारमा सामूहिक भेटघाट गरेका थिए।
प्रधानमन्त्रीसँग भेट नभए तापनि विशेष दूत गोरले शुक्रबार परराष्ट्रमन्त्री शिशिर खनाल र अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँग छुट्टाछुट्टै भेटवार्ता गर्ने कार्यक्रम रहेको छ। गोरको यो भ्रमणलाई द्विपक्षीय सम्बन्ध र सहयोगका दृष्टिकोणले महत्त्वपूर्ण मानिएको छ।










