सल्यान-
जिल्ला प्रहरी कार्यालय सल्यानको परिसरभित्र भवन निर्माणका लागि जग खन्ने क्रममा फेला परेका ८६ वटा बम नेपाली सेनाको टोलीले सफलतापूर्वक निष्क्रिय पारेको छ।
गत बुधबार दिउँसो शारदा नगरपालिका–३ स्थित प्रहरी कार्यालयको नयाँ भवनका लागि जग खन्ने क्रममा शङ्कास्पद वस्तु फेला परेपछि उत्खनन सुरु गरिएको थियो। शनिबार बिहानसम्मको निरन्तर उत्खननका क्रममा कुल ८६ वटा बम र अन्य विस्फोटक सामग्री बरामद भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।
बरामद सामग्रीहरूको विवरण:
-
सकेट बम: ८२ वटा
-
सुतली बम: ३ वटा
-
बोतल बम: १ वटा
-
विस्फोटक पदार्थ: करिब ५०० ग्राम
-
बम निर्माण सामग्री: २ केजी
-
रेडियो वेभ उपकरण: ७ थान
-
फायरिङ केबल: १० मिटर
जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) डा. हेमबहादुर केसीका अनुसार बम फेला परेपछि सुरक्षा सतर्कता अपनाउँदै तत्काल नेपाली सेनाको सिद्धीबक्स गणसँग समन्वय गरिएको थियो। फेला परेका सामग्रीहरूलाई नं. १९ बाहिनी तुलसीपुर, दाङ र कालीभक्ती गण भैरहवाबाट आएको विशेष बम डिस्पोजल टोलीले शनिबार सुरक्षित रूपमा निष्क्रिय पारेको हो।
सेनानी श्रीप्रसाद रामजालीको नेतृत्वमा रहेको इन्जिनियर टोली र सिद्धीबक्स गण सल्यानका सेनानी महेश अधिकारीको नेतृत्वमा खटिएको टोलीले डिस्पोजल कार्य सम्पन्न गरेको थियो।
प्रहरीको प्रारम्भिक अनुमान अनुसार यी विस्फोटक सामग्रीहरू सशस्त्र द्वन्द्वकालमा विभिन्न समयमा बरामद गरी बंकरमा राखिएको र पछि समयक्रममा पुरिएको हुनसक्ने देखिएको छ। बम निष्क्रिय पारिएसँगै अहिले उक्त क्षेत्रको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।











