काठमाण्डौं-
शिक्षालयदेखि कर्मचारीतन्त्रसम्म फैलिएको दलगत प्रभाव हटाउने विषयमा प्रधानमन्त्री बालेन शाहले कडा सन्देश दिएका छन् । “अब झोला र झण्डा होइन, योग्यता र क्षमता चल्ने समय आएको छ।”
मंगलबार सामाजिक सञ्जालमार्फत सार्वजनिक धारणा राख्दै प्रधानमन्त्री शाहले वर्षौंदेखि शिक्षालय र निजामती क्षेत्रमा मौलाएको पार्टीकरणले राज्य प्रणालीमै गहिरो असर पारेको बताए। उनका अनुसार विद्यार्थी संगठन र कर्मचारी युनियनहरू धेरै हदसम्म आफ्नो मूल उद्देश्यबाट विचलित हुँदै दलका “स्लिपर सेल” जस्तै बने, जसले संस्थागत सुधारभन्दा राजनीतिक स्वार्थलाई प्राथमिकता दिए।
“योग्यता भन्दा पहुँच, क्षमता भन्दा झोला र झण्डाको मूल्य बढाइयो,” उनले स्पष्ट शब्दमा भने, “यसले राज्यप्रति जनताको विश्वास कमजोर बनाएको छ।”
यही पृष्ठभूमिमा सरकारले अध्यादेशमार्फत शिक्षालयमा दलका झण्डा र कर्मचारीतन्त्रमा दलगत प्रभाव निषेध गर्ने साहसी कदम चालेको प्रधानमन्त्रीको दाबी छ। उनले यो निर्णय कुनै संगठन कमजोर भएकाले नभई, प्रणाली सुधारका लागि लिइएको ठोस पहल भएको बताए।
“चाहे भने आजै ठूला विद्यार्थी र कर्मचारी संगठन बनाउन सकिन्छ,” उनले भने, “तर अर्को संगठन थप्दैमा न शिक्षाको गुणस्तर बढ्छ, न कर्मचारीको सम्मान जोगिन्छ,यो विगतले प्रमाणित गरिसकेको छ।”
प्रधानमन्त्री शाहले यो कदमलाई ‘अधिकार खोस्ने होइन, पेशागत स्वतन्त्रता बलियो बनाउने प्रयास’ को रूपमा चित्रण गरेका छन्। उनका अनुसार अब देशलाई दलगत कब्जाबाट निकालेर संस्थागत र विधि आधारित प्रणालीमा लैजानुपर्ने बेला आएको छ।
सबैभन्दा महत्वपूर्ण सन्देश पनि यही हो । अब नियुक्ति, सरुवा र बढुवा राजनीतिक पहुँचको आधारमा होइन, क्षमता, दक्षता र विधिको आधारमा हुनेछन्।
प्रधानमन्त्रीको यो अभिव्यक्तिले स्पष्ट संकेत दिएको छ ।सरकार अब पुरानो अभ्यास तोड्न तयार छ। तर, यो प्रयासले कत्तिको सफलता पाउँछ र कति प्रतिरोध सामना गर्छ, त्यो भने आउने दिनहरूले तय गर्नेछन्।












