काठमाडौँ –
कागजमा मात्रै बनेको बंगुर फार्मको नाममा लाखौँ रुपैयाँ झ्वाम पारिएको खुलासा भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ठूलो कदम चालेको छ। पुथा उत्तरगंगा गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत बशिष्ट नारायण यादवसहितका कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको हो।
आयोगका अनुसार आर्थिक वर्ष २०७७/७८ मा रुकुम (पूर्वी भाग) को वडा नं. १२ छमारीमा सञ्चालन भएको भनिएको बंगुर फार्म निर्माण योजना वास्तवमा कागजमै सीमित थियो। नभएको कामलाई सम्पन्न देखाएर नापी किताबमा झुटा अभिलेख तयार पारिएको र त्यसकै आधारमा रु. ९ लाख ६७ हजार ३७८ भुक्तानी गरिएको पाइएको छ।
यस प्रकरणमा यादवसँगै इन्जिनियर खुविराज शाही, सब-इन्जिनियर कमलप्रसाद के.सी., योजना शाखा प्रमुख चित्रबहादुर के.सी., सह-लेखापाल नवराज खड्का तथा वडा अध्यक्ष गंगाबहादुर पुनको समेत संलग्नता देखिएको अख्तियारले जनाएको छ। कृषक समूहका अध्यक्ष सुजन पुनलाई पनि मतियारको रूपमा मुद्दामा तानिएको छ।
अख्तियारले उनीहरूमाथि सरकारी सम्पत्तिमा हानि पुर्याउने तथा दुरुपयोग गर्ने गम्भीर आरोप लगाउँदै भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार बिगो असुल, जरिवाना र कैद सजायको माग गरेको छ। विशेष अदालत, काठमाडौँमा दायर गरिएको मुद्दामा मुख्य अभियुक्तसरह सजाय माग गरिएको उल्लेख छ।
आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार अब यो प्रकरण औपचारिक रूपमा न्यायिक प्रक्रियामा प्रवेश गरिसकेको छ।अब अदालतको फैसला पर्खिने पालो।














