२०८३ बैशाख २२ गते, मंगलवार १७:३४

पूर्वअध्यक्ष शेखर गोल्छालाई हिरासतमा राख्न अदालतको अस्वीकार, रिहा हुने

काठमाडौँ-

नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष शेखर गोल्छा हिरासतमुक्त हुने भएका छन्। मंगलबार म्याद थपका लागि काठमाडौँ जिल्ला अदालतमा उपस्थित गराइएका गोल्छालाई हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला न्यायाधीश मोना सिंहको इजलासले अस्वीकार गरेको हो।

अदालतको आदेशमा भनिएको छ, ‘प्रतिवादी शेखर गोल्छालाई हिरासतमै राखी मुद्दाको अनुसन्धान गर्नुपर्ने सम्मको अवस्थाको विद्यमानता रहेको नदेखिएकोले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १४(३) बमोजिम प्रतिवादीलाई हिरासतमा राखी अनुसन्धान गर्न म्याद थप गर्न मिलेन’।

यसअघि सोमबार मात्र सर्वोच्च अदालतले गोल्छालाई बन्दी प्रत्यक्षीकरणको रिटउपर सुनुवाइ गर्दै धितोपत्र सम्बन्धी कसुरमा छाड्न आदेश दिएको थियो। न्यायाधीशद्वय महेश शर्मा पौडेल र श्रीकान्त पौडेलको इजलासले उनलाई छाड्न आदेश दिए पनि लगत्तै अर्कै कसुरमा अनुसन्धान गर्न भन्दै केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले उनलाई पुनः पक्राउ गरेको थियो।

बीमा सम्बन्धी कसुरमा अनुसन्धानका लागि सीआईबीले सोमबार पुनः नियन्त्रणमा लिएको भए पनि जिल्ला अदालतको पछिल्लो आदेशसँगै उनी रिहा हुने बाटो खुलेको छ।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस