२०८३ बैशाख २९ गते, मंगलवार १०:०९

पर्सा राष्ट्रिय निकुञ्जमै ‘वाइल्डलाइफ रेस्क्यु टिम’ तयार: घाइते वन्यजन्तुको उद्धार र उपचारमा सहजता

पर्सा

पर्सा राष्ट्रिय निकुञ्जले वन्यजन्तुको संरक्षण र सुरक्षालाई थप प्रभावकारी बनाउन वैशाख पहिलो सातादेखि निकुञ्जभित्रै छुट्टै ‘उद्धार टोली’ (Wildlife Rescue Team) को व्यवस्थापन गरेको छ। यो टोलीको गठनसँगै अब घाइते वा दुर्घटनामा परेका वन्यजन्तुको उद्धार र उपचार प्रक्रिया निकै छिटो र सहज हुने भएको छ।

यसअघि निकुञ्ज क्षेत्रमा कुनै वन्यजन्तु घाइते भएमा वा सडक दुर्घटनामा परेमा विशेषज्ञ उद्धार टोलीका लागि चितवन राष्ट्रिय निकुञ्जको भर पर्नुपर्ने बाध्यता थियो। चितवनबाट टोली आइपुग्न समय लाग्ने भएकाले कतिपय अवस्थामा घाइते वन्यजन्तुले समयमै उपचार नपाउँदा ज्यान गुमाउने जोखिम हुन्थ्यो।

निकुञ्ज प्रशासनका अनुसार अब निकुञ्जमै आफ्नै टोली तयारी अवस्थामा रहने भएकाले घटनास्थलमै पुगेर तत्काल उपचार सुरु गर्न सम्भव भएको छ। यसले वन्यजन्तुको मृत्युदर घटाउन महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ।

पर्सा निकुञ्जले पछिल्लो समय सक्रियताका साथ विभिन्न प्रजातिका वन्यजन्तुहरूको उद्धार गर्दै आएको छ। निकुञ्जका अनुसार हालसम्म:

  • किङ्ग कोब्रा (राज गोमन): २५ वटा
  • अजिङ्गर: १५ वटा
  • सालक: १ वटा
  • अन्य वन्यजन्तु: ३ वटा

यी सबै वन्यजन्तुहरूलाई विभिन्न ठाउँबाट उद्धार गरी, आवश्यक उपचार र स्वास्थ्य परीक्षणपछि पुनः तिनीहरूको प्राकृतिक वासस्थानमा सुरक्षित रूपमा छाडिएको निकुञ्जले जनाएको छ। निकुञ्जको यो पछिल्लो व्यवस्थापनले जैविक विविधता संरक्षणमा नयाँ आयाम थपेको संरक्षणकर्मीहरू बताउँछन्।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस