वीरगन्ज–
वीरगन्ज महानगरपालिका वडा नम्बर ११ श्रीपुरस्थित कृषि औजार कारखाना पछाडिको झाझी टोलमा आफ्नै घरमा अवैध देहव्यापार (यौन धन्दा) सञ्चालन गराएको आरोपमा पर्सा प्रहरीले दुई पुरुष र पाँच महिलासहित ७ जनालाई नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय पर्सा मातहतको वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको विशेष टोलीले स्थानीय वकिल मियाँको घरमा छापामारी उनीहरूलाई नियन्त्रणमा लिएको हो।
स्थानीयका अनुसार घरधनी वकिल मियाँ अन्सारीले लामो समयदेखि झाझी टोलस्थित आफ्नै घरमा अवैध रूपमा देहव्यापार गराउँदै आएका थिए। विशेष सूचनाका आधारमा पुगेको प्रहरी टोलीले घरधनी अन्सारी, एक जना पुरुष ग्राहक र पाँच जना महिलालाई घटनास्थलबाटै नियन्त्रणमा लिएको हो।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) हरी बहादुर बस्नेतले अवैध देहव्यापारको आरोपमा उनीहरूलाई नियन्त्रणमा लिइएको पुष्टि गरे। डीएसपी बस्नेतका अनुसार पक्राउ परेका सबै जनालाई जिल्ला प्रहरी कार्यालयमा राखेर हाल विस्तृत विवरण संकलन तथा कानुनी कारबाहीका लागि थप अनुसन्धान भइरहेको छ।











