काठमाडौँ-
सार्वजनिक मञ्चबाटै मठ–मन्दिरमा आगो लगाउने धम्कीपूर्ण अभिव्यक्ति दिएका रुकुम पश्चिमका जनक परियारलाई प्रहरीले काठमाडौँबाट पक्राउ गरेको छ। रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–१२ घर भई हाल काठमाडौँको टोखा नगरपालिका–८ बानियाँटार बस्ने २७ वर्षीय परियारलाई जिल्ला प्रहरी परिसर काठमाडौँले नियन्त्रणमा लिएको हो।
काठमाडौँको अनामनगरस्थित संवाद डबलीमा आयोजित एक कार्यक्रममा बोल्दै परियारले “मठ–मन्दिरमा आगो लगाइदिने” भन्दै उत्तेजक अभिव्यक्ति दिएका थिए। उनले राज्यले नागरिकलाई समान अधिकार नदिए देशभर विद्रोह गर्ने चेतावनी समेत दिएका थिए। उनको सो आपत्तिजनक मन्तव्य विभिन्न युट्युब च्यानल तथा सामाजिक सञ्जालमा प्रसारित भएपछि प्रहरीले उनीमाथि निगरानी बढाएको थियो।
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक (एसपी) पवन भट्टराईका अनुसार परियारलाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको हो। “सार्वजनिक रूपमा धार्मिक र सामाजिक सद्भावमा खलल पुग्ने गरी अभिव्यक्ति दिएको विषयमा उनीमाथि आवश्यक अनुसन्धान सुरु गरिएको छ,” एसपी भट्टराईले भने।
परियारले कार्यक्रममा बोल्ने क्रममा परापूर्वकालदेखि नै दलित समुदायलाई नारकीय जीवन जिउन बाध्य बनाइएको र हाल पनि ग्रामीण क्षेत्रमा दलितको अवस्था दयनीय रहेको दाबी गरेका थिए। सोही असन्तुष्टिका बीच उनले धार्मिक संरचनामाथि प्रहार गर्ने चेतावनी दिएका थिए। प्रहरीले उनीमाथि सार्वजनिक शान्ति विरुद्धको कसुर वा सामाजिक सद्भाव भड्काउन खोजेको अभियोगमा कानुनी कारबाही अगाडि बढाउने तयारी गरेको छ।












