वीरगन्ज-
नेपाल पत्रकार महासंघ मधेश प्रदेश समितिको आफ्नै प्रादेशिक कार्यालय भवनको निर्माण कार्य सुरु भएको छ। गणतन्त्र दिवसको अवसर पारेर शुक्रबार जनकपुरधाम उपमहानगरपालिका–४ मा आयोजित एक विशेष समारोहका बीच भवनको शिलान्यास गरिएको हो।
मधेश प्रदेश सरकारका गृह, सञ्चार तथा कानुन मन्त्री फकिरा महतोले जगको पूजा गरी जग खनेर भवनको औपचारिक शिलान्यास गरे।
आगामी बजेटबाट रकम व्यवस्थापन: मन्त्री महतो
भवन शिलान्यास गर्दै गृह, सञ्चार तथा कानुन मन्त्री फकिरा महतोले महासंघको प्रादेशिक कार्यालयलाई सुविधा सम्पन्न बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताए। उनले भवन निर्माण कार्यलाई पूर्णता दिन महासंघका पदाधिकारी, अर्थ मन्त्रालय र गृह, सञ्चार मन्त्रालयबीच आवश्यक समन्वय भइरहेको जानकारी दिए। मन्त्री महतोले आगामी आर्थिक वर्षको बजेटमार्फत भवन निर्माणका लागि आवश्यक बजेट व्यवस्थापन गरिने आश्वासन समेत दिए।
प्रतिबद्धता अनुसार नै प्रदेश भवनको सपना साकार: अध्यक्ष बन्जारा
कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल पत्रकार महासंघ मधेश प्रदेशका अध्यक्ष श्याम बन्जाराले अग्रज पत्रकारहरूले देखेको सपना पूरा गर्ने अभियानको सुरुवात भएको बताए। नेपालमै पहिलोपटक कुनै प्रादेशिक समितिको आफ्नै भवन निर्माण कार्य अघि बढेको दाबी गर्दै उनले निर्वाचनका समयमा सञ्चारकर्मीमाझ गरेको प्रतिबद्धता पूरा भएको उल्लेख गरे।
“नेपालमै पहिलोपटक मधेश प्रदेशको आफ्नै भवन बनाउने मेरो सपना आज साकार भएको छ,” अध्यक्ष बन्जाराले भने, “महासंघको निर्वाचनका बेला जसरी मैले पर्सामा पत्रकार महासंघको दुईतले भवन निर्माण गरेको थिएँ, त्यसैगरी प्रदेशमा पनि विजयी भएपछि भवन बनाउने बाचा गरेको थिएँ। सोही प्रतिबद्धता अनुसार आज काम सुरु भएको छ, छिट्टै आधुनिक र सुविधासम्पन्न भवन तयार हुनेछ।”
अध्यक्ष बन्जाराका अनुसार प्रारम्भिक चरणमा दुई कोठे भवनको निर्माण कार्य अघि बढाइएको छ।
सञ्चार क्षेत्रका अगुवाहरूको सहभागिता
कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय लेखा समिति संयोजक केसी लामिछाने, स्वतन्त्रता सेनानी रामभरत, महासंघका केन्द्रीय सदस्य एवं मधेश प्रदेश इन्चार्ज राजेश कर्ण, आमसञ्चार प्राधिकरणका अध्यक्ष श्यामसुन्दर यादव (जितेन्द्र सिंह खड्का), मिडिया काउन्सिलकी कार्यवाहक अध्यक्ष बन्दना झा लगायतको उपस्थिति थियो।
महासंघका पदाधिकारी, स्थानीय सञ्चारकर्मी तथा विभिन्न क्षेत्रका प्रतिनिधिहरूको उल्लेख्य सहभागिता रहेको उक्त शिलान्यास कार्यक्रमको सहजीकरण महासंघका प्रदेश महासचिव शैलेन्द्र महतोले गरेका थिए।












