वीरगन्ज-
नेपाल पत्रकार महासंघ पर्सा शाखाले संकलन गरेको हस्ताक्षर आज नेपाल सरकारलाई बुझाएको छ। सरकारी विज्ञापनसम्बन्धी नीति पुनरावलोकन गर्नुपर्ने मागसहित संकलन गरिएको हस्ताक्षर जिल्ला प्रशासन कार्यालय पर्सामार्फत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पठाइएको हो।
नेपाल पत्रकार महासंघ पर्सा शाखाका सचिव विजयकुमार महतोको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय पुगेका सञ्चारकर्मीहरूले निमित्त प्रमुख जिल्ला अधिकारी तथा सहायक प्रमुख जिल्ला अधिकारी विनोदकुमार पोखरेलमार्फत प्रधानमन्त्रीलाई हस्ताक्षर बुझाएका हुन्।
हस्ताक्षर बुझाउँदै सचिव महतोले उक्त ज्ञापनपत्र सम्माननीय प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा यथाशीघ्र पठाइदिन आग्रह गरेका थिए। उनले सरकारले अवलम्बन गरेको नयाँ विज्ञापन नीतिले साना लगानीका सञ्चारमाध्यममाथि आर्थिक भार बढाएको मात्र नभई प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई समेत कमजोर बनाउने खतरा उत्पन्न गरेको बताए। त्यसैले उक्त नीति तत्काल पुनरावलोकन गरी आवश्यक संशोधन गर्न सरकारसँग आग्रह गरिएको उनले बताए।
नेपाल पत्रकार महासंघले बुझाएको हस्ताक्षर तथा मागपत्रलाई सकेसम्म छिटो सम्बन्धित निकायसम्म पुर्याइने प्रतिबद्धता निमित्त प्रमुख जिल्ला अधिकारी पोखरेलले व्यक्त गरे।
सो अवसरमा जिल्ला प्रशासन कार्यालय पर्साका सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण थापासहित पत्रकारसँग आबद्ध विभिन्न संघ–संगठनका अगुवाहरूको बाक्लो उपस्थिति रहेको थियो।
कार्यक्रममा नेपाल पत्रकार महासंघ पर्साका पूर्वअध्यक्ष शंकर खतिवडा, नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य श्रीराम रायमाझी, प्रेस चौतारी पर्साका अध्यक्ष निरञ्जन मिश्र, क्रान्तिकारी प्रेस संगठन पर्साका अध्यक्ष शिवनाथ यादव, समाजवादी प्रेस मञ्च पर्साका अध्यक्ष शम्भु सुमन, क्रियाशील युवा पत्रकार संघ पर्साका अध्यक्ष आनन्द साह, रिपोर्टर्स क्लब पर्साका अध्यक्ष कनहैया गुप्ता, नेपाल पत्रकार महासंघ पर्सा शाखाका सहसचिव अजय चौरसियालगायत कार्यसमिति सदस्य तथा विभिन्न सञ्चारमाध्यममा आबद्ध सञ्चारकर्मीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।












