वीरगन्ज-
जिल्ला प्रहरी कार्यालय पर्साले अवैध रूपमा भारतबाट नेपाल भित्र्याइएको करिब ७ लाख रुपैयाँ बराबरको पटका, आतिसबाजी तथा अन्य विष्फोटक पदार्थ नियन्त्रणमा लिई नष्ट गरेको छ।
बुधबार जिल्ला प्रहरी कार्यालयको सभाहलमा पत्रकार सम्मेलनको आयोजना गर्दै पर्सा प्रहरीका प्रवक्ता एवं डीएसपी चक्रबहादुर मल्लले विभिन्न नाकाबाट अवैध रूपमा ल्याउँदै गर्दा उक्त परिमाणको पटका बरामद गरिएको जानकारी दिनुभयो।
प्रहरीका अनुसार नियन्त्रणमा लिइएका सामग्रीहरूमा नागिन ३५० प्याकेट, राधाचक्र ८ प्याकेट, इलेक्ट्रोनिक स्पार्क २० प्याकेट, गुनगुन ३०० प्याकेट, कलफुल ३० सट १ प्याकेट, र फ्लावर पटस ५५ प्याकेट लगायतका विभिन्न किसिमका पटका तथा आतिसबाजी रहेका छन्।
बरामद गरिएका यी सबै विष्फोटक पदार्थहरू बुधबार नै सञ्चारकर्मीहरूको रोहबरमा जिल्ला प्रहरी कार्यालयको परिसरमा पूर्ण रूपमा नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।











