२०८३ असार १५ गते, सोमबार १२:०६

जेष्ठ नागरिक संघ पर्साद्वारा २३ औँ राष्ट्रिय धान दिवस भव्य रूपमा मनाइयो

वीरगन्ज

जेष्ठ नागरिक संघ पर्साको आयोजनामा वीरगन्जमा २३ औँ राष्ट्रिय धान दिवस तथा दही चिउरा खाने कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ। यस वर्ष “जलवायु मैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि” भन्ने मूल नाराका साथ धान दिवस मनाइएको हो।

कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्दै वीरगन्ज महानगरपालिकाका कार्यवाहक प्रमुख इम्तियाज आलमले कृषि क्षेत्रको विकास र धान उत्पादनमा आधुनिक एवं जलवायु मैत्री प्रविधिको प्रयोग अपरिहार्य रहेको बताउनुभयो। उहाँले महानगरपालिका नगरका किसानहरूलाई प्रोत्साहन गर्न र कृषि उत्पादकत्व बढाउन सधैं तत्पर रहेको धारणा राख्नुभयो।

त्यसैगरी, महानगरका प्रमुख प्रशासकीय अधिकृत बसन्त बहादुर बोहराले जलवायु परिवर्तनको वर्तमान चुनौतीलाई चिर्न अनुकूलित प्रविधिको प्रवर्द्धन गर्नुपर्नेमा जोड दिनुभयो।

कृषि र समाजको अन्तरसम्बन्धमाथि प्रकाश पार्दै प्रतीक दैनिकका प्रधान सम्पादक जगदीश प्रसाद शर्माले हाम्रा परम्परागत चाडपर्व र कृषिको महत्वलाई नयाँ पुस्तासम्म पुर्‍याउन यस्ता कार्यक्रमले ऊर्जा दिने उल्लेख गर्नुभयो। वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष हरि प्रसाद गौतमले कृषि क्षेत्रको व्यावसायिकरण र स्वदेशी उत्पादनको प्रवर्द्धनले मात्र आर्थिक समृद्धि सम्भव हुने विचार व्यक्त गर्नुभयो।

असार १५ लाई नेपाली समाजमा धान रोपाईंको उत्सव र दही चिउरा खाने विशेष पर्वका रूपमा लिइन्छ। जेष्ठ नागरिकहरूको अनुभव र नयाँ प्रविधिको संयोजनबाट कृषिमा देशलाई आत्मनिर्भर बनाउन सकिने सन्देश यस कार्यक्रमले दिएको छ।

कार्यक्रममा जेष्ठ नागरिक समाजका अगुवा, स्थानीय बुद्धिजीवी तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो। सहभागीहरूले सामूहिक रूपमा दही चिउरा खाएर एकापसमा शुभकामना आदानप्रदान गर्दै दिवस मनाएका थिए।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस