वीरगन्ज–
जिल्लाका विभिन्न सार्वजनिक स्थलहरूमा राखिएका राष्ट्रिय झण्डाहरू च्यातिएको, रङ्ग उडेको र फोहोर अवस्थामा भेटिएको भन्दै जिल्ला प्रशासन कार्यालय पर्साले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। कार्यालयले पर्सा जिल्लाका सबै स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतहरूलाई एक परिपत्र जारी गर्दै राष्ट्रिय झण्डाको नियमित मर्मत, फेरबदल तथा संरक्षण गर्न कडा निर्देशन दिएको हो।
प्रमुख जिल्ला अधिकारी भोला दाहालद्वारा हस्ताक्षरित परिपत्रमा पर्साका विभिन्न चोक, पुल, उद्यान तथा अन्य सार्वजनिक स्थलहरूमा स्थानीय तहहरूबाट राखिएका नेपालको राष्ट्रिय झण्डाहरू जीर्ण अवस्थामा फेला परेको भनी जनस्तरबाट व्यापक गुनासोहरू प्राप्त भएको उल्लेख गरिएको छ। नेपालको राष्ट्रिय झण्डा राष्ट्रको गौरव, स्वाभिमान र पहिचानको प्रतीक भएकाले यसको मर्यादा र सम्मानलाई अक्षुण्ण राख्नु सबैको साझा संवैधानिक एवं नागरिक कर्तव्य भएको प्रशासनले जनाएको छ।
‘राष्ट्रिय झण्डा र राष्ट्रिय गान प्रयोग सम्बन्धी कार्यविधि, २०६९’ बमोजिम सार्वजनिक स्थानमा प्रयोग गरिने झण्डा मर्यादित, सफा र सग्लो हुनुपर्ने कानुनी व्यवस्थालाई स्मरण गराउँदै प्रशासनले स्थानीय तहहरूलाई तत्काल आफ्ना क्षेत्रमा निरीक्षण थाल्न भनेको छ। जसअनुसार अब स्थानीय तहहरूले च्यातिएका वा रङ्ग उडेका पुराना झण्डाहरूलाई तत्काल हटाएर तोकिएको मापदण्ड अनुसारका नयाँ झण्डाहरू राख्नुपर्नेछ।
यसैगरी सार्वजनिक स्थानमा राखिएका झण्डाहरूको अवस्थाबारे नियमित अनुगमन गर्ने प्रणालीको विकास गर्न र पुराना वा मक्किएका झण्डाहरूलाई जथाभाभी नफ्याँकी कार्यविधि बमोजिम आदरपूर्वक र सुरक्षित तरिकाले विसर्जन गर्न समेत निर्देश गरिएको छ। राष्ट्रिय झण्डा राखिएका स्थानहरूको सरसफाइ र सुरक्षाको पूर्ण जिम्मेवारी अब सम्बन्धित स्थानीय तहले नै लिनुपर्ने परिपत्रमा स्पष्ट पारिएको छ।












