२०८३ असार १६ गते, मंगलवार २०:१४

भारी वर्षाको जोखिम: कान्ति लोकपथमा दुई दिन रात्रिकालीन सवारी आवतजावत बन्द

हेटौंडा

देशभर मनसुनी वर्षा सक्रिय भई भारी वर्षाको सम्भावना बढेपछि हेटौंडा–काठमाडौं जोड्ने कान्ति लोकपथमा मंगलबार र बुधबार रातिको समयमा यात्रा गर्न रोक लगाइएको छ। जिल्ला प्रशासन कार्यालय मकवानपुरले सम्भावित विपद्लाई मध्यनजर गर्दै उच्च सतर्कता अपनाउन सो निर्णय गरेको हो।

कार्यालयले जारी गरेको सूचना अनुसार असार १६ र १७ गते बेलुका ५ बजेदेखि बिहान ५ बजेसम्म कान्ति लोकपथमा सवारी साधन सञ्चालन गर्न पाइने छैन। प्रशासनले यी दुई दिन अति आवश्यक कामबाहेक यात्रा नगर्न सर्वसाधारणलाई आग्रह समेत गरेको छ। भारी वर्षाका कारण आउन सक्ने बाढीपहिरोको जोखिमलाई ध्यानमा राख्दै यो कदम चालिएको हो।

यसैगरी, जिल्ला प्रशासन कार्यालयले वर्षाको समयमा ताल, नदी, खोला तथा अन्य जलाशयहरूमा माछा मार्ने, पौडी खेल्ने, डुंगा चलाउने वा नदी तर्ने जस्ता जोखिमयुक्त गतिविधि नगर्न र सचेत रहन अपिल गरेको छ।

प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीद्वारा जारी सूचनामा वर्षा र जोखिमको अवस्था हेरी सुरक्षाकर्मीले जिल्लाभित्रका अन्य कुनै पनि सडकमा निश्चित समयका लागि आवागमन रोक्न सक्ने उल्लेख गरिएको छ। प्रशासनले नागरिकको सुरक्षाका लागि चालिने यस्ता कदम र सुरक्षाकर्मीको कार्यमा पूर्ण सहयोग गर्न सबै पक्षसँग अनुरोध गरेको छ।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस