२०८३ असार १८ गते, बिहीबार १९:५१

वीरगन्जको मुख्य सडक विस्तारमा पुनर्विचार गर्न माग, सभापति लामिछानेलाई बुझाइयो ज्ञापनपत्र

वीरगन्ज

वीरगन्ज उद्योग वाणिज्य संघले वीरगन्जको मुख्य सडक विस्तारको विषयमा सरकारलाई पुनर्विचार गर्न आग्रह गरेको छ। संघले ऐतिहासिक तथा व्यापारिक महत्त्व बोकेको पुरानो बजार क्षेत्र जोगिने गरी पुरानै निर्णयअनुसारको एलाइनमेन्ट कार्यान्वयन गर्न सरकारसँग माग गरेको हो।

संघका अध्यक्ष हरिप्रसाद गौतमको नेतृत्वमा रहेको पदाधिकारीसहितको टोलीले बिहीबार काठमाडौँमा सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई भेटी एक ज्ञापनपत्र बुझाउँदै यस्तो माग गरेको हो। संघले वीरगन्जको विकासका नाममा मुख्य बजार क्षेत्रलाई नै विस्थापित गर्ने कुनै पनि योजना स्वीकार्य नहुने स्पष्ट पारेको छ।

२०७२ सालको मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन गर्न माग

ज्ञापनपत्रमा उल्लेख भए अनुसार, २०७२ सालमा मन्त्रिपरिषद्ले त्रिभुवन राजपथको वीरगन्ज खण्डमा रहेको पुरानो सडकको एलाइनमेन्ट परिवर्तन गरी परवानीपुर–बहुअरी क्षेत्रमा रहेको एकीकृत जाँच चौकी (ICP) जोड्ने नयाँ मार्ग निर्माण गर्ने निर्णय गरेको थियो। उक्त निर्णयअनुसार नयाँ वैकल्पिक सडक निर्माण भई सञ्चालनमा समेत आइसकेको अवस्थामा फेरि पुरानै बजार क्षेत्रबाट सडक विस्तार गर्ने तयारी हुनु नीतिगत रूपमा उचित नभएको संघको तर्क छ।

सयौँ व्यवसाय र ऐतिहासिक सम्पदा जोखिममा

यदि पुरानो बजार क्षेत्रबाट जबरजस्ती सडक विस्तार गरिएमा दशकौँदेखि सञ्चालनमा रहेका सयौँ व्यापारिक प्रतिष्ठान, घर, मठमन्दिर तथा ऐतिहासिक संरचनाहरू भत्किने र स्थानीय व्यवसायीहरू विस्थापित हुने संघले जनाएको छ। यसबाट वीरगन्जको आर्थिक गतिविधिमा गम्भीर नकारात्मक असर पर्ने, स्थानीय रोजगारी गुम्ने र सहरको सांस्कृतिक पहिचानसमेत मेटिने खतरा औँल्याइएको छ।

अन्तर्राष्ट्रिय अभ्यासमा पनि घना व्यापारिक तथा ऐतिहासिक क्षेत्रलाई संरक्षण गर्दै बाहिरी बाइपास मार्गको विकासलाई प्राथमिकता दिइने गरिएको स्मरण गराउँदै संघले वीरगन्जको हकमा पनि हाल सञ्चालनमा रहेको वैकल्पिक मार्ग तथा आईसीपी जोड्ने सडकलाई नै प्रभावकारी रूपमा प्रयोग गर्न सुझाव दिएको छ।

स्थानीय सरोकारवालासँग छलफल गर्न आग्रह

मुलुककै प्रमुख व्यापारिक प्रवेशद्वार र राष्ट्रिय अर्थतन्त्रको मेरुदण्डका रूपमा रहेको वीरगन्जको मुख्य सडक विस्तार गर्दा स्थानीय सरकार, व्यवसायी र सर्वसाधारण नागरिकसँग पर्याप्त छलफल गरेर मात्र निर्णय लिन आग्रह गरिएको छ।

ज्ञापनपत्र बुझ्दै रास्वपा सभापति रवि लामिछानेले वीरगन्ज उद्योग वाणिज्य संघले उठाएका मागहरू जायज रहेको र यसलाई तत्काल सम्बन्धित सरकारी निकायसम्म पुर्‍याएर सकारात्मक पहल गर्ने प्रतिबद्धता जनाउनुभएको संघका वरिष्ठ उपाध्यक्ष माधव राजपालले जानकारी दिनुभयो।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस