काठमाडौँ –
नेपाल प्रहरीले एक करोड ४८ लाख रुपैयाँभन्दा बढीको अवैध क्रिप्टोकरेन्सी कारोबार गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले सामाजिक सञ्जालमार्फत विभिन्न प्रलोभन देखाएर मानिसहरूलाई ठगी गर्ने र उक्त रकमलाई क्रिप्टोकरेन्सीमा रूपान्तरण गरी अवैध कारोबार गरेको आरोपमा भक्तपुरको मध्यपुर थिमी–५ बस्ने २५ वर्षीय मुकेश प्रजापतिलाई पक्राउ गरेको हो।
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार अनुसन्धानका क्रममा प्रजापतिले हालसम्म १ करोड ४८ लाख ७६ हजार ५२७ रुपैयाँ ४६ पैसा बराबरको क्रिप्टोकरेन्सी कारोबार गरेको खुलेको छ।
यसैगरी, उनको विभिन्न डिजिटल खाताहरू (वालेट) जाँच गर्दा ७ हजार ४८५ अमेरिकी डलर (करिब ११ लाख ४१ हजार ९८३ नेपाली रुपैयाँ) मौज्दात रहेको समेत प्रहरीले फेला पारेको छ।
पक्राउ परेका प्रजापतिविरुद्ध बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन र नेपाल राष्ट्र बैंक ऐन विपरीतको कसुरमा थप अनुसन्धानका लागि जिल्ला अदालत काठमाडौँबाट पाँच दिनको म्याद थप गरिएको छ। नेपालमा क्रिप्टोकरेन्सीको कारोबार तथा माइनिङ कानुनी रूपमा पूर्णतः निषेधित छ।











