२०८३ श्रावण ३ गते, आईतवार १८:१२

सत्याग्रहबाट स्वतन्त्र भएको भारतमा सत्याग्रहकै आवाज दबाउन खोजिएको आरोप, दीपकेले गरे आमरण अनशनको घोषणा

काठमाडौं –

महात्मा गान्धीको सत्याग्रहकै बलमा स्वतन्त्रता हासिल गरेको भारतमा शान्तिपूर्ण सत्याग्रहलाई नै दबाउन खोजिएको आरोप लाग्न थालेको छ। नयाँ दिल्लीको जन्तर–मन्तरमा २० दिनदेखि आमरण अनशनमा बसेका सामाजिक अभियन्ता सोनम वाङ्चुकलाई दिल्ली प्रहरीले शनिबार प्रदर्शनस्थलबाट हटाएर अस्पताल पुर्‍याएपछि आन्दोलनकारीहरूले सरकारमाथि सत्याग्रहको आवाज दबाउन खोजेको आरोप लगाएका छन्।

वाङ्चुकलाई प्रहरीले अस्पताल पुर्‍याएलगत्तै ककरोच जनता पार्टी (सीजेपी) का संस्थापक अभिजीत दीपकेले अनिश्चितकालीन आमरण अनशन सुरु गर्ने घोषणा गरेका छन्। उनले प्रहरीको कारबाहीलाई शान्तिपूर्ण आन्दोलनमाथिको बल प्रयोग भन्दै आफूहरू पछि नहट्ने बताएका छन्।

“करिब ६० वर्षका, २० दिनदेखि भोकै बसेका एक व्यक्तिलाई प्रहरीले गालीगलौज गर्दै घिसारेर जबर्जस्ती हटायो,” दीपकेले आरोप लगाएका छन्। उनले आफू कुनै राष्ट्रिय सुरक्षा खतरा नभएको भन्दै सत्याग्रह गर्न पाउनु नागरिकको अधिकार भएको दाबी गरेका छन्।

भारतीय सञ्चारमाध्यम एनडीटीभी र द टाइम्स अफ इन्डियाका अनुसार ५९ वर्षीय वाङ्चुकलाई शनिबार बिहान दिल्ली प्रहरीले जन्तर–मन्तरबाट हटाएर सफदरजंग अस्पताल पुर्‍याएको हो। उनी २० दिनदेखि आमरण अनशनमा थिए। प्रहरीले भने दिल्ली उच्च अदालतको आदेश र उनको बिग्रँदो स्वास्थ्य अवस्थाका कारण आवश्यक उपचारका लागि अस्पताल लगिएको दाबी गरेको छ।

तर, आन्दोलनकारीहरूले प्रहरीको कारबाहीलाई सामान्य स्वास्थ्य हस्तक्षेपका रूपमा स्वीकार गरेका छैनन्। उनीहरूले वाङ्चुकको इच्छा विपरीत उनलाई आन्दोलनस्थलबाट हटाइएको आरोप लगाउँदै सत्याग्रह रोक्ने प्रयास भएको बताएका छन्। भारतीय सञ्चारमाध्यमका अनुसार वाङ्चुकलाई हटाउने क्रममा प्रहरीले ठूलो सुरक्षा परिचालन गरेको थियो र केही समय प्रदर्शनकारी तथा प्रहरीबीच तनावसमेत भएको थियो।

वाङ्चुकले भारतको महत्वपूर्ण मेडिकल प्रवेश परीक्षा नीटमा भएको भनिएको प्रश्नपत्र चुहावट र अनियमितताको विरोध गर्दै केन्द्रीय शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामा माग गर्दै आएका छन्। सीजेपीले यही मागलाई समर्थन गर्दै आन्दोलन अघि बढाइरहेको छ।

दिल्ली उच्च अदालतले वाङ्चुकको स्वास्थ्य अवस्थालाई गम्भीर रूपमा लिँदै उनको जीवन बचाउन आवश्यक चिकित्सकीय हस्तक्षेप गर्न निर्देशन दिएको थियो। प्रहरीका अनुसार सोही आदेश र चिकित्सकीय सल्लाहका आधारमा उनलाई अस्पताल लगिएको हो। अस्पताल स्रोतका अनुसार वाङ्चुक कमजोर भए पनि स्थिर अवस्थामा छन्।

तर, आन्दोलनकारी पक्षले भने प्रश्न उठाएको छ,भारतको स्वतन्त्रता नै सत्याग्रह र अहिंसात्मक आन्दोलनबाट सम्भव भएको इतिहास बोकेको देशमा आज शान्तिपूर्ण सत्याग्रह गर्न बसेका नागरिकलाई प्रहरीले बलपूर्वक हटाउनु कति लोकतान्त्रिक हो?

वाङ्चुक अस्पताल पुगेपछि दीपकेले आफूले पनि आमरण अनशन सुरु गर्ने घोषणा गरेका छन्। उनले आन्दोलनकारीमाथि दबाब बढाएर आन्दोलन रोक्न नसकिने चेतावनी दिएका छन्।

वाङ्चुककी पत्नी गीताञ्जली जे. आङ्मोले सामाजिक सञ्जालमार्फत आफू अस्पतालमा श्रीमान्सँगै रहेको जानकारी दिँदै परिवार तथा विगत २० दिनदेखि उनको स्वास्थ्य निगरानी गरिरहेका चिकित्सकको अनुमति बिना कुनै औषधि वा उपचार नदिन आग्रह गरेकी छन्।

पछिल्ला दिनमा विभिन्न विपक्षी दलका नेता, सामाजिक अभियन्ता तथा सार्वजनिक व्यक्तित्वहरूले वाङ्चुकको आन्दोलनप्रति समर्थन जनाउँदै आएका छन्। भारतीय सञ्चारमाध्यमका अनुसार आन्दोलनमा विद्यार्थी तथा अन्य सामाजिक अभियन्ताको सहभागिता पनि बढ्दै गएको छ।

यसैबीच, सीजेपीले सोमबार संसद् अधिवेशन सुरु हुने दिन जन्तर–मन्तरबाट संसद् भवनतर्फ ‘संसद् चलो’ मार्च गर्ने योजना बनाएको छ। त्यसअघि नै दिल्ली प्रहरीले राजधानीमा सुरक्षा व्यवस्था कडा बनाएको छ। अतिरिक्त प्रहरी परिचालन, निगरानी र ब्यारेकेडिङ बढाइएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

दीपकेले भने आन्दोलन अब झन् बलियो हुने दाबी गरेका छन्। वाङ्चुकलाई अस्पताल पुर्‍याएपछि आन्दोलन रोक्नुको सट्टा आफूले आमरण अनशन सम्हाल्ने घोषणा गर्दै उनले सत्याग्रह जारी रहने बताएका छन्।

गान्धीको सत्याग्रहबाट स्वतन्त्रता हासिल गरेको भारतमा अहिले त्यही सत्याग्रहलाई रोक्न राज्यशक्ति प्रयोग भइरहेको हो कि स्वास्थ्य सुरक्षाका नाममा कानुनी प्रक्रिया पालना गरिएको हो भन्ने प्रश्नले नयाँ दिल्लीको राजनीतिक वातावरण तातेको छ। आन्दोलनकारीको आरोप र प्रहरीको दाबीबीचको यही विरोधाभासले घटनालाई थप राजनीतिक र संवेदनशील बनाएको छ।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस