पोखरा –
पर्यटकलाई हिमाल, ताल र प्राकृतिक सौन्दर्य देखाएर स्वागत गर्ने पोखरा पछिल्लो समय चोरीको ‘अन्तर्राष्ट्रिय केन्द्र’ बन्दै गएको हो कि भन्ने प्रश्न उठेको छ। पोखरामा भएका शृङ्खलाबद्ध चोरीका घटनाको अनुसन्धान गर्दै जाँदा भारतीय र चिनियाँ नागरिकसमेत संलग्न रहेको आरोपमा नौजनाको गिरोह पक्राउ परेपछि पोखराको सुरक्षामाथि गम्भीर प्रश्न उठेको छ।
जिल्ला प्रहरी कार्यालय कास्कीले पोखराका विभिन्न क्षेत्रमा भएका चोरीका घटनामा संलग्न रहेको आरोपमा चार विदेशी नागरिकसहित नौजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारतीय नागरिक राहुल निषाद र सोमनाथ हनुमन्त जाधव तथा चिनियाँ नागरिक वेन जिई र वाङ ल्यानयिन छन्।
विदेशी नागरिकहरू पोखरामा हिमाल हेर्न आएका थिए कि ‘चोरीको पर्यटन’ गर्न, प्रहरीले अनुसन्धान गरिरहेको छ। उनीहरू नेपाली सहयोगीको साथमा पोखराका विभिन्न क्षेत्रमा भएका चोरीका घटनामा संलग्न रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको जनाएको छ।
प्रहरीका अनुसार पक्राउ पर्ने नेपाली नागरिकमा स्याङ्जाको चापाकोटका ४२ वर्षीय राजकुमार विक, पोखरा महानगरपालिका–१६ का ५१ वर्षीय केशव पाइजा मगर, अन्नपूर्ण गाउँपालिका–७ का खिमबहादुर क्षेत्री, अर्घाखाँचीको भूमिकास्थान नगरपालिका–३ का अशोक पोख्रेल र बागलुङ नगरपालिका–१२ का २७ वर्षीय अनिल विक रहेका छन्।
उनीहरूको साथबाट नगद, सुन, मोबाइल, ल्यापटप, घडी लगायतका सामग्री बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानले जानकारी दिए।
केही समयदेखि पोखराका विभिन्न स्थानमा चोरीका घटना निरन्तर भइरहेका थिए। पर्यटकलाई आकर्षित गर्ने पोखरामा चोरहरूको गतिविधि पनि त्यत्तिकै ‘व्यवस्थित’ ढङ्गले चलिरहेको रहेछ भन्ने तथ्य अनुसन्धानपछि खुलेको प्रहरीको भनाइ छ।
शृङ्खलाबद्ध चोरीका घटनाबारे सूक्ष्म अनुसन्धान गर्दै जाँदा प्रहरी गिरोहसम्म पुगेको हो। यसरी पक्राउ परेकामध्ये कोही सीमापारिबाट आएका र कोही देशकै विभिन्न जिल्लाबाट पोखरा पुगेका रहेको खुलेपछि चोरी पनि अब स्थानीय ‘प्रतिभा’मा मात्र सीमित नरहेको देखिएको छ।
पक्राउ परेकाविरुद्ध चोरी तथा डाँका मुद्दामा कास्की जिल्ला अदालतबाट शुक्रबार म्याद थप गरी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।
पोखरामा पर्यटकका लागि नयाँ–नयाँ आकर्षण थपिँदै गए पनि चोरीका घटनामा देखिएको यो ‘अन्तर्राष्ट्रिय सहकार्य’ले सुरक्षा निकायलाई भने नयाँ चुनौती थपेको छ। अब पोखरामा पर्यटकले ताल र हिमालसँगै आफ्नो मोबाइल, सुन र ल्यापटप पनि सुरक्षित छन् कि छैनन् भन्ने चिन्ता गर्नुपर्ने अवस्था आएको छ।












