२०८३ श्रावण ३ गते, आईतवार १८:१३

अवरुद्ध बीपी राजमार्ग पुन: सञ्चालनमा 

रामेछाप –

काभ्रेको रोशी गाउँपालिका–९ पिन्थलीस्थित विरुवाडाँडामा सडकमाथिबाट आएको लेदो तथा गिम्दी र चारसयबेसी–घुमाउने क्षेत्रमा माथिबाट खसेको सुख्खा पहिरो हटाइएपछि अवरुद्ध बीपी राजमार्ग पुनः सञ्चालनमा आएको छ ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार शुक्रबार राति परेको वर्षापछि सडकमा लेदो र पहिरो खस्दा राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको थियो । सडकमा थुप्रिएको लेदो र पहिरो हटाउने कार्य सम्पन्न भएपछि केहीबेरअघि मात्रै यातायात सञ्चालनमा ल्याइएको हो ।

राजमार्ग खुलेसँगै दुवैतर्फ रोकिएका सवारीसाधनहरू पुनः सञ्चालनमा आएको हो । सडक अवरुद्ध हुँदा पूर्वबाट काठमाडौंतर्फ आउँदै गरेका सवारीसाधन सिन्धुलीको खुर्कोटमा रोकिएका थिए भने काठमाडौंबाट पूर्वतर्फ जाँदै गरेका सवारीसाधन काभ्रेको भकुण्डे क्षेत्रमा रोकिएका थिए ।

प्रहरीले वर्षायामका कारण सडक अझै जोखिमपूर्ण अवस्थामा रहेकाले आवश्यक सतर्कता अपनाएर मात्र यात्रा गर्न सबै चालक तथा यात्रुलाई आग्रह गरेको छ ।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस