काठमाडौँ–
काठमाडौँ उपत्यकामा लागुऔषध आपूर्ति गर्ने गिरोहमाथि लागुऔषध नियन्त्रण ब्यूरोले ठुलो अपरेसन चलाएको छ। उपत्यकामा प्रतिबन्धित औषधि भित्र्याएर अवैध कारोबार भइरहेको विशेष सूचनाका आधारमा खटिएको ब्यूरोको टोलीले काठमाडौँ महानगरपालिका वडा नं. १२ टेकुस्थित दोभानपुल नजिकै गोली प्रहार गरी तीन जनालाई नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेहरूमा भारतको उत्तर प्रदेश, रुपडिहाका २५ वर्षीय राज सोनी, बाँके नेपालगन्जका १९ वर्षीय निखिल सोनी र सुर्खेत पञ्चपुरीकी १९ वर्षीया शोफिया मगर रहेका छन्।
ब्यूरोका अनुसार शनिबार अपराह्न ४:१० बजेको समयमा भारतको रुपडिहा नाकाबाट काठमाडौँ उपत्यकासम्म ठुलो परिमाणमा प्रतिबन्धित ‘टपेन्डाडोल’ क्याप्सुल ल्याएर खरिदबिक्री भइरहेको अवस्थामा प्रहरीले घेरा हालेको थियो। नियन्त्रणमा लिने क्रममा कारोबारीको समूहले प्रहरी टोलीमाथि नै उल्टै आक्रमण गरी भागिजाने प्रयास गरेको थियो। सो क्रममा प्रहरीले सुरुमा चेतावनी स्वरूप हवाई फायर गरेर उनीहरूलाई रोक्न खोजेको भए पनि आदेशको अवज्ञा गर्दै भागेपछि प्रहरीले घुँडामुनि लक्षित गरी गोली प्रहार गरेको हो।
प्रहरीको गोली लागेर घाइते भएका भारतीय नागरिक राज सोनीको दुवै खुट्टामा चोट लागेको छ। उनको दाहिने घुँडामा एक राउण्ड र बायाँ घुँडामुनि एक राउण्ड गरी जम्मा दुई राउण्ड गोली लागेको र हाल राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको ब्यूरोले जनाएको छ।
प्रहरीले पक्राउ परेका कारोबारीहरूको साथबाट २४ हजार ७०० थान प्रतिबन्धित टपेन्डाडोल (Tapentadol) क्याप्सुल र सञ्चारका लागि प्रयोग गरिएका ३ थान मोबाइल फोन समेत बरामद गरेको छ। लागुऔषध नियन्त्रण ब्यूरोका प्रहरी नायव उपरीक्षक (डिएसपी) जिवन निरौलाका अनुसार यो गिरोहले लामो समयदेखि सीमावर्ती भारतीय बजारबाट अवैध रूपमा प्रतिबन्धित औषधिहरू उपत्यका भित्र्याएर युवा पुस्तामाझ महँगो मूल्यमा बिक्री गर्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। पक्राउ परेका तीनै जनामाथि लागुऔषध नियन्त्रण ऐनबमोजिम म्याद थप गरी ब्यूरोले विस्तृत अनुसन्धान सुरु गरिसकेको छ।












