वीरगन्ज-
मध्यपूर्वमा जारी अमेरिका–इरान तनावको प्रभाव नेपालको इन्धन आयातमा पनि देखिन थालेको छ। विशेषगरी वीरगन्ज भन्सार नाकाबाट नेपाल भित्रिने खाना पकाउने एलपी ग्यास, डिजेल र मट्टी तेलको आयातमा उल्लेखनीय गिरावट आएको छ।
वीरगन्ज भन्सार कार्यालयका अनुसार आर्थिक वर्ष २०८२/८३ मा अघिल्लो आर्थिक वर्ष २०८१/८२ को तुलनामा डिजेल आयात ६ प्रतिशत, खाना पकाउने एलपी ग्यास ११ प्रतिशत र मट्टी तेल ४८ प्रतिशतले घटेको छ। यद्यपि, पेट्रोलको आयात भने ४ प्रतिशतले बढेको छ।
भन्सार कार्यालयको तथ्यांकअनुसार आर्थिक वर्ष २०८१/८२ मा वीरगन्ज नाकाबाट १ खर्ब रुपैयाँ बराबरको ११ लाख ५० हजार ८१ किलोलिटर डिजेल, ३६ अर्ब ३७ करोड रुपैयाँ बराबरको ३ लाख १८ हजार ९३१ मेट्रिक टन एलपी ग्यास तथा ६९ करोड रुपैयाँ बराबरको ७ हजार ९३० किलोलिटर मट्टी तेल आयात भएको थियो।
तर, आर्थिक वर्ष २०८२/८३ मा डिजेल आयात घटेर १० लाख ८५ हजार १५८ किलोलिटरमा सीमित भएको छ, जसको मूल्य १ खर्ब ३२ अर्ब ३४ करोड रुपैयाँ पुगेको छ। त्यसैगरी, एलपी ग्यास २ लाख ८५ हजार ९८० मेट्रिक टन (३३ अर्ब ५२ करोड रुपैयाँ) र मट्टी तेल ४ हजार २०८ किलोलिटर (३७ करोड रुपैयाँ) मात्र आयात भएको भन्सारको तथ्यांकले देखाएको छ।
यस्तै, अघिल्लो आर्थिक वर्षमा ३८ अर्ब ७२ करोड रुपैयाँ बराबरको ४ लाख ५३ हजार ८६४ किलोलिटर पेट्रोल आयात भएकोमा गत आर्थिक वर्षमा ४७ अर्ब ३५ करोड रुपैयाँ बराबरको ४ लाख ७१ हजार ९७४ किलोलिटर पेट्रोल आयात भएको छ।
तथ्यांकले आयात परिमाण मात्र घटेको नभई इन्धनको आयात मूल्य पनि उल्लेखनीय रूपमा बढेको देखाएको छ। अघिल्लो आर्थिक वर्षको तुलनामा एलपी ग्यास प्रतिकिलो करिब ३ रुपैयाँ, डिजेल प्रतिलिटर ३५ रुपैयाँ, पेट्रोल प्रतिलिटर करिब १५ रुपैयाँ र मट्टी तेल प्रतिलिटर करिब ९१ पैसा महँगोमा आयात भएको छ।
भन्सारका अनुसार अघिल्लो आर्थिक वर्षमा प्रतिकिलो ११४ रुपैयाँमा आयात भएको एलपी ग्यास गत आर्थिक वर्षमा करिब ११७ रुपैयाँ पुगेको छ। त्यस्तै, डिजेल प्रतिलिटर ८६ रुपैयाँ ९५ पैसाबाट बढेर १२१ रुपैयाँ ९५ पैसा पुगेको छ। पेट्रोल प्रतिलिटर ८५ रुपैयाँ ३१ पैसाबाट बढेर करिब १ सय रुपैयाँ नाघेको छ भने मट्टी तेल ८७ रुपैयाँ १ पैसाबाट बढेर ९७ रुपैयाँ ९२ पैसा प्रतिलिटरमा आयात भएको छ।
नेपालमा खपत हुने कुल पेट्रोलियम पदार्थमध्ये करिब ७० प्रतिशत इन्धन वीरगन्ज नाकाबाट आयात हुने भएकाले यस नाकाबाट हुने आयातमा आएको कमीले देशभर इन्धन आपूर्ति र बजारमा प्रत्यक्ष प्रभाव पार्ने गरेको छ।












