२०८३ श्रावण २० गते, बुधबार १३:२७

वीरगन्ज भन्सार क्षेत्रका होटलमा प्रहरीको छापा: सञ्चालकसहित ९ भारतीय र ३ नेपाली नियन्त्रणमा

वीरगन्ज

सीमावर्ती सहर वीरगन्जको भन्सार क्षेत्र आसपास सञ्चालित होटलहरूमा अनैतिक गतिविधि बढेको गुनासोपछि प्रहरीले टोली खटाएर छापा मारेको छ। वीरगन्ज महानगरपालिका–१६ इनर्वास्थित दुई होटलबाट अनैतिक क्रियाकलापमा संलग्न रहेको आशङ्कामा प्रहरीले १२ जनालाई पक्राउ गरेको छ।

वडा प्रहरी कार्यालय विर्ताका प्रहरी निरीक्षक विक्रम सुवेदीको कमान्डमा खटिएको प्रहरी टोलीले स्थानीय ‘अभिषेक होटल’ र अर्को एक नाम नखुलेको होटलमा छापा मारेको हो। कारबाहीका क्रममा ७ जना महिला र ५ जना पुरुष गरी कुल १२ जना नियन्त्रणमा परेका छन्।

पर्सा प्रहरीका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक (डीएसपी) चक्रबहादुर मल्लका अनुसार पक्राउ पर्नेमा ४० वर्षीया एक महिला होटल सञ्चालक समेत रहेकी छन्। नियन्त्रणमा लिइएकामध्ये ९ जना भारतीय नागरिक र ३ जना नेपाली महिला रहेको प्रहरीले जनाएको छ। उनीहरूको उमेर १९ देखि ४० वर्षबिचको छ।

स्थानीयस्तरबाट होटलहरूमा गलत धन्दा भइरहेको सूचना प्राप्त भएपछि प्रहरीले केही दिनदेखि विशेष टोली खटाएर सूक्ष्म निगरानी बढाएको थियो। निगरानीका क्रममा अनैतिक गतिविधि भइरहेको पुष्टि भएपछि प्रहरीले एक्सन लिएको प्रहरी निरीक्षक सुवेदीले जानकारी दिए।

प्रहरी टोली पुगेर सोधपुछ तथा नियन्त्रणको प्रक्रिया सुरु गर्नासाथ अर्को होटलका सञ्चालक भने स्थिति बुझेर फरार भएका छन्। फरार सञ्चालकको खोजी तीव्र पारिएको प्रहरीले जनाएको छ।

पक्राउ परेका सबैलाई जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखी प्रचलित कानुनबमोजिम थप अनुसन्धान तथा कानुनी कारबाहीको प्रक्रिया अगाडि बढाइएको छ।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस