काठमाडौँ–
नेपाली कांग्रेसका नेता एवं प्रसिद्ध उद्योगपति बिनोद चौधरीले आफ्नो पहिचानको दुरुपयोग गरेर सामाजिक सञ्जालमा भ्रामक सामग्री प्रसारण भइरहेको भन्दै गम्भीर ध्यानाकर्षण जनाएका छन्।
बुधबार एक विज्ञप्ति जारी गर्दै उनले आफ्नो नाम, तस्बिर तथा सार्वजनिक पहिचानको दुरुपयोग गरी विभिन्न डिजिटल माध्यमहरूमा अनधिकृत र अप्रमाणित सामग्री सम्प्रेषण भइरहेको बताएका हुन्। यस्ता सामग्रीहरूसँग आफ्नो कुनै पनि आधिकारिक धारणा, अभिव्यक्ति वा संलग्नता नरहेको उनले स्पष्ट पारेका छन्।
‘मेरो नाम, तस्बिर, अभिव्यक्ति तथा सार्वजनिक पहिचानको दुरुपयोग गरी विभिन्न सामाजिक सञ्जाल तथा अन्य डिजिटल माध्यमहरूमा भ्रामक, अप्रमाणित तथा अनधिकृत सामग्री प्रकाशन तथा प्रसारण भइरहेकोप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ,’ विज्ञप्तिमा भनिएको छ।
उद्योगपति चौधरीले भ्रामक सामग्री उत्पादन, प्रकाशन र प्रचारप्रसार गर्ने व्यक्ति वा संस्थाविरुद्ध कानुनी प्रक्रिया अगाडि बढाउन प्रहरीको साइबर ब्यूरोलगायत सम्बन्धित निकायहरूमा जानकारी गराइसकिएको जनाएका छन्। साथै, यस्ता भ्रामक सामग्री तत्काल हटाउन र संलग्न पक्षलाई कानुनी दायरामा ल्याउन उनले सरकारसँग मागसमेत गरेका छन्।
सर्वसाधारणलाई ठगीबाट बचाउन सचेत गराउँदै चौधरीले आधिकारिक सञ्चारमाध्यम र चौधरी ग्रुपका आधिकारिक प्लेटफर्महरूबाट सार्वजनिक हुने सूचनामा मात्र विश्वास गर्न आग्रह गरेका छन्। उनले सामाजिक सञ्जालमा देखिने त्यस्ता भ्रामक सामग्रीकै आधारमा कसैलाई पनि रकम ट्रान्सफर (कारोबार) नगर्न विशेष अनुरोध गरेका छन्।












