काठमाडौं –
नवलपरासी पूर्व (बर्दघाट सुस्तापूर्व) मा बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन्।
विनयी त्रिवेणी गाउँपालिका–२ स्थित पूर्व–पश्चिम राजमार्गको एस मोडमा बस दुर्घटना भएको हो। दुर्घटनामा पाँच जनाको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी जगदीश्वर उपाध्यायले जानकारी दिए।
प्रहरीका अनुसार नेपालगञ्जबाट काठमाडौं आउँदै गरेको प्रदेश–३–०१–००६ ख १५५३ नम्बरको बस सडकबाट नालामा खसेको हो।
प्रारम्भिक अनुसन्धानअनुसार बसमा चालकसहित १८ जना सवार थिए। तीमध्ये दुई जना सकुशल छन्।
घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको छ। उनलाई थप उपचारका लागि चितवनको भरतपुर पठाइएको प्रमुख जिल्ला अधिकारी उपाध्यायले बताए। अन्य घाइतेको डण्डास्थित स्वास्थ्य संस्थामा उपचार भइरहेको छ।
मृत्यु हुने पाँच जनाको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।










