वीरगन्ज –
म्याद गुज्रिएका तथा गुणस्तरहीन खाद्य सामग्रीमा नक्कली स्टिकर लगाएर बिक्री–वितरण गरेको आरोपमा प्रहरीले बारा र पर्साका दुई व्यापारीलाई पक्राउ गरेको छ।
काठमाडौंको चन्द्रागिरि नगरपालिका–१५, तीनथानामा सञ्चालित सिद्धिविनायक खाद्य स्टोरमा जिल्ला प्रहरी परिसर काठमाडौं र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको संयुक्त टोलीले गरेको अनुगमनका क्रममा उनीहरू पक्राउ परेका हुन्।
पक्राउ पर्नेमा पर्साको विन्दवासिनी गाउँपालिका–२, बहुअर्वाभाठाका अखिलेशप्रसाद गुप्ता र बाराको प्रसौनी गाउँपालिका–१ का विजेन्द्र साह रहेका छन्। उनीहरूलाई म्याद गुज्रिएका खाद्य सामग्रीमा नक्कली स्टिकर लगाएर बिक्री–वितरण गरेको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका सूचना अधिकारी प्रहरी उपरीक्षक दानबहादुर थापाले जानकारी दिए।
गुणस्तरहीन खाद्य सामग्री बिक्री–वितरण भइरहेको गोप्य सूचनाका आधारमा स्टोरमा अनुगमन गर्दा नक्कली स्टिकर टाँस्ने मेसिनसहित म्याद गुज्रिएका विभिन्न खाद्य सामग्री फेला परेको प्रहरीले जनाएको छ।
अनुगमनका क्रममा प्रहरीले मिति उल्लेख गर्ने मेसिन एक थान, ल्यापटप तथा प्रिन्टर एक थान, बोरा सिलाउने मेसिन एक थान तथा म्याद गुज्रिएका काजु एक बाल्टी, पिस्ता र आल्मन्ड एक–एक कार्टुन, कालो भटमास चार बोरा, मकै दुई बोरा र हरियो केराउ एक बोरा बरामद गरेको छ।
यस्तै, गोदाममा छापा मार्दा नक्कली लेबलिङ स्टिकर लगाएर बिक्रीका लागि तयार पारिएका मकैपट्टि, राज्मा, अबिर/केशरी, ब्राजिलियन पपकर्न, लोकल खैरो तिल, ओखर र केराउलगायतका सामग्रीका स्टिकरसमेत बरामद गरिएको प्रहरीले जनाएको छ।
पक्राउ परेका दुवै जनालाई जिल्ला प्रहरी परिसर काठमाडौंमा राखेर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।










