वीरगन्ज —
“उद्यमशीलता र पारदर्शिता सहकारीको प्राथमिकता” भन्ने मूल नाराका साथ शिवम बचत तथा ऋण सहकारी संस्था लिमिटेड, वीरगञ्ज-१० रानीघाटको १६औँ वार्षिक साधारण सभा शुक्रबार सम्पन्न भएको छ। वीरगञ्जस्थित नगरसभा गृहको सभाहलमा संस्थाका अध्यक्ष शिवजी प्रसाद साह कलवारको अध्यक्षतामा सभा सम्पन्न भएको हो।
सभालाई सम्बोधन गर्दै अध्यक्ष कलवारले सहकारी संस्था केवल बचत तथा ऋणको कारोबार गर्ने माध्यम मात्र नभई सामाजिक उत्तरदायित्व बहन गर्ने महत्त्वपूर्ण संस्था भएको बताएका छन्। उनले आर्थिक कारोबारसँगै संस्थाले सामाजिक सेवाका क्षेत्रमा पनि सक्रिय भूमिका निर्वाह गर्दै आएको उल्लेख गरे। संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत हालै रसुवाका बाढीपीडितलाई आर्थिक सहयोग उपलब्ध गराएको छ भने १६औँ वार्षिक साधारण सभाको अवसर पारेर खुला रक्तदान कार्यक्रमसमेत आयोजना गरेको छ।
सेयर सदस्य, बचतकर्ता र सर्वसाधारणको विश्वास नै सहकारीको मुख्य पुँजी भएको बताउँदै अध्यक्ष कलवारले पारदर्शिता, जवाफदेहिता र सुशासनलाई संस्थाले सधैँ प्राथमिकतामा राखेको स्पष्ट पारे। दिगो विकासका लागि सदस्यहरूको सक्रिय सहभागिता, आपसी सहकार्य र आर्थिक अनुशासन आवश्यक रहेको उनको जोड थियो। साधारण सभाले आगामी दिनमा संस्थालाई थप व्यवस्थित, पारदर्शी र उद्यमशीलतामैत्री बनाउँदै लैजाने निर्णय गरेको छ।
उत्कृष्ट सदस्य सम्मानित तथा १०६ जनाद्वारा रक्तदान
सञ्चालक समितिका सचिव शर्मानन्द कुशवाहाले संस्था समाजप्रति उत्तरदायी र जवाफदेही संस्थाको रूपमा स्थापित हुँदै आएको बताएका छन्। उनले यस वर्ष उत्कृष्ट बचतकर्ता, उत्कृष्ट ऋणी, उत्कृष्ट कर्मचारी र उत्कृष्ट सेयरधनी गरी चार जनालाई प्रशंसा-पत्रद्वारा सम्मानित गरिएको जानकारी दिए।
त्यसैगरी, वार्षिकोत्सवको अवसरमा आयोजित खुला रक्तदान कार्यक्रममा प्रदिप कुमार ढुङ्गाना, रामबाबु अजित चौधरी, प्रगति थापा, अशोक गुप्ता, सुनिल महतो, लालबाबु राम, सन्दिप कुमार, राजाबाबु शाह सोनार, वीरेन्द्र शाह, मन्दिप प्रसाद शाह लगायत दुई महिलासहित १०६ जनाले रक्तदान गरेका थिए।











