बागलुङ –
पूर्वाधार निर्माणका क्रममा मजदुरको सुरक्षाका लागि आवश्यक उपाय नअपनाउने प्रवृत्तिले फेरि दुई मजदुरको ज्यान गएको छ । बागलुङमा सडक स्तरोन्नतिका क्रममा माटोको ढिस्को खस्दा दुई कामदारको मृत्यु भएको छ भने एकजना गम्भीर घाइते भएका छन्।
निसीखोला गाउँपालिका–३, बोहोरागाउँमा सोमबार बिहान सडक खन्ने क्रममा माथिबाट अचानक माटोको ढिस्को खस्दा कामदारहरू पुरिएका हुन्।
प्रहरीका अनुसार झिवाखोलाबाट बोहोरागाउँ जाने भित्री सडकखण्डमा बिहान करिब ७ः२० बजे लु १ क ३४४६ नम्बरको जेसीबीले सडक खन्ने क्रममा घटना भएको हो।
ढिस्कोमा पुरिएर सल्यानका ३२ वर्षीय लालबहादुर बुढाथोकी र उदयपुरका ३२ वर्षीय राजु थापामगरको मृत्यु भएको प्रहरीले जनाएको छ।
घटनामा रोल्पाको त्रिवेणी गाउँपालिका–५ का २५ वर्षीय कृष्णबहादुर घर्ती गम्भीर घाइते भएका छन्। उद्धारपछि उनलाई उपचारका लागि बुर्तिबाङ अस्पताल पठाइएको प्रहरीले जनाएको छ।
पूर्वाधार निर्माणका क्रममा जोखिमयुक्त क्षेत्रमा कामदारलाई आवश्यक सुरक्षा उपकरण, सुरक्षित कार्यस्थल र जोखिम न्यूनीकरणका उपायबिना काममा लगाउने प्रवृत्तिले यस्ता दुर्घटनाको जोखिम बढाउँदै आएको छ। पछिल्लो घटनाले पनि निर्माणस्थलमा मजदुरको सुरक्षालाई प्राथमिकतामा राख्नुपर्ने आवश्यकता देखाएको छ।












