जुम्ला –
खानेपानीमन्त्री प्रदीप यादवले जुम्लामा निर्माणाधीन खानेपानी आयोजनाको अनुगमन गरेका छन् । शनिबार जुम्ला पुगेका उनले तातोपानी गाउँपालिका–१ मा निर्माणाधीन धौलिगाड खानेपानी आयोजनाको अवलोकन गरेका हुन् ।
आयोजना अनुगमनपछि सञ्चारकर्मीसँगको छलफलमा मन्त्री यादवले कर्णाली प्रदेशका दुर्गम जिल्लासहित जुम्लाका स्थानीयले वर्षौँदेखि भोग्दै आएका खानेपानीलगायतका समस्याहरू समाधान गर्ने प्रतिबद्धता व्यक्त गरे । ‘यहाँका समस्याहरूबारे प्रत्यक्ष जानकारी लिने अवसर प्राप्त भयो । ती समस्याहरू समाधानका लागि योजनाबद्ध रूपमा काम गर्नेछौँ,’ उनले भने ।

मन्त्री यादवसहित मन्त्रालयका सचिव इञ्जिनीयर प्रमिलादेवी शाक्य बज्राचार्य, खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक इञ्जिनीयर रामकुमार श्रेष्ठलगायतका कर्मचारीहरू जुम्ला पुगेका छन् । उनीहरूले हिमा गाउँपालिका–१, देवारगाउँमा आज आयोजना हुने बास सम्मेलनमा सहभागिता जनाउनुका साथै खानेपानी समस्याको समाधानका उपायहरू पहिचान गर्ने उद्देश्य राखेका छन् ।
यसै क्रममा मन्त्री नेतृत्वको टोलीले मुलुककै पहिलो कर्णाली प्राविधिक शिक्षालय जुम्लाको पनि अवलोकन गरेको छ । यो भ्रमणले जुम्लालगायत कर्णालीका खानेपानी समस्याहरू समाधानमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ ।