२०८२ असार १६ गते, सोमबार २०:०२

काठमाडौं –

पछिल्लो चार वर्षमा नेपालमा चट्याङका कारण २३७ जनाको मृत्यु भएको छ भने ९०८ जना घाइते भएका छन्। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणकी सहसचिव रोशनीकुमारी श्रेष्ठ ले झापादेखि कञ्चनपुर र हुम्लादेखि धनुषासम्म चट्याङको जोखिम रहेको बताएकी छन्। झापा, उदयपुर र मकवानपुर जिल्ला चट्याङको उच्च जोखिममा रहेको उनले जानकारी दिइन्।

बि.सं. २०७८ साउन १ देखि २०८२ जेठ ५ सम्म चट्याङका १,११८ घटना भएको र १,६०७ परिवार प्रभावित भएको प्राधिकरणले जनाएको छ। विश्वमा चट्याङबाट हुने विपद् जोखिमको आधारमा नेपाल पाँचौँ स्थानमा पर्छ। “घर, गोठ र अग्ला टावर चट्याङको निशानामा पर्छन्। बर्खायाममा कृषि कार्य गर्ने सर्वसाधारण बढी प्रभावित हुन्छन्। कोशी प्रदेशमा चट्याङका घटना बढी हुने र लुम्बिनीमा मानवीय तथा भौतिक क्षति बढी भएको छ,” सहसचिव श्रेष्ठले भनिन्।

प्रदेशगत क्षतिको विवरण

  • कोशी प्रदेश: २९५ घटनामा ३६६ घर प्रभावित, ५१ जनाको मृत्यु, ८४ घाइते, ४२० चौपाया मरे, रु. १ करोड ६० लाख ४५ हजार बराबरको क्षति।
  • लुम्बिनी प्रदेश: १८० घटनामा २७६ परिवार प्रभावित, ५४ जनाको मृत्यु, १६५ घाइते, ९८ चौपाया मरे, रु. ३ करोड ४९ हजारको भौतिक क्षति।
  • अन्य प्रदेश: सुदूरपश्चिममा ३५, मधेसमा २७, बागमतीमा २५, गण्डकीमा २४ र कर्णालीमा २१ जनाको मृत्यु। घाइतेको सङ्ख्या कर्णालीमा २०७, सुदूरपश्चिममा १५८, गण्डकीमा ८४, बागमतीमा ८२ र मधेसमा २८ रहेको छ।

चट्याङ दोस्रो ठूलो विपद्

त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम केन्द्रीय विभागका सहप्राध्यापक मदन सिग्देल का अनुसार, नेपालमा विपद्बाट हुने जनधनको क्षतिमा चट्याङ दोस्रो ठूलो कारण हो। चैतदेखि असारसम्मको प्रि-मनसुन र मनसुन अवधिमा वायुमण्डलको अस्थिरताले चट्याङका घटना बढ्ने गर्छ। नेपालको हिमाल, पहाड र तराईको भौगोलिक अवस्थाले चट्याङको जोखिम बढाएको उनले बताए।

न्यूनीकरण सम्भव, तर सचेतना आवश्यक

सहप्राध्यापक सिग्देलले चट्याङ रोक्न नसकिए पनि ८० प्रतिशतसम्म क्षति न्यूनीकरण गर्न सकिने बताए। “चेतना र प्रविधिको अभावले नेपालमा क्षति बढी भएको हो। ८० प्रतिशत मानवीय क्षति खुला स्थानमा काम गर्ने समयमा भएको छ। मध्याह्नपछि चट्याङको जोखिम बढी हुन्छ, त्यसैले मेघगर्जनका बेला खुला ठाउँमा नजाने र काम मध्याह्नअघि सक्ने हो भने क्षति कम गर्न सकिन्छ,” उनले भने।

जल तथा मौसम विज्ञान विभागले उदयपुर, पाल्पा र सुर्खेतमा चट्याङको पूर्वसूचना दिने राडार जडान गरेको थियो, तर हाल तीनवटै राडार बिग्रिएर थन्किएका छन्। सिग्देलले राडार मर्मत गरी सञ्चालनमा ल्याएमा आधा घण्टादेखि एक घण्टाअघि चट्याङको जानकारी प्राप्त गर्न सकिने बताए।

दीर्घकालीन समाधान

घर र ठूला संरचनामा चट्याङरोधक वैज्ञानिक उपकरण जडानलाई अनिवार्य गर्नुपर्ने सिग्देलको सुझाव छ। स्थानीय तहले वडा र टोलस्तरमा सचेतना कार्यक्रम सञ्चालन गर्नुपर्नेमा उनले जोड दिए। “सचेतनाले चट्याङको जोखिम न्यूनीकरणमा ठूलो भूमिका खेल्छ। स्रोतसाधन भएका स्थानीय तहले यो विषयमा सक्रिय हुनुपर्छ,” उनले भने।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस