दमौली –
नेपाली काङ्ग्रेसका प्रवक्ता तथा पूर्वऊर्जामन्त्री डा. प्रकाशशरण महतले मुलुकको आर्थिक उन्नयनका लागि ऊर्जा क्षेत्रको विकास अपरिहार्य भएको बताएका छन्। निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको बिहीबार बिहान निरीक्षण गर्दै उनले मुलुकमा उपलब्ध जलस्रोतको अधिकतम उपयोग गरी राष्ट्रलाई समृद्धिको मार्गमा अग्रसर गराउनुपर्नेमा जोड दिए।
नेता महतले ऊर्जा क्षेत्रमार्फत औद्योगिक विकास र बिजुली निर्यातबाट देशलाई समृद्ध बनाउन सकिने बताए। उनले भने, “विद्युतीय वाहनको प्रयोगले पेट्रोलियम पदार्थको आयात घटाउन सकिन्छ। तनहुँ जलविद्युत् आयोजनाजस्ता परियोजनाले ऊर्जामा आत्मनिर्भरता हासिल गर्न महत्वपूर्ण भूमिका खेल्छन्। यो आयोजना निर्धारित समयमा सम्पन्न हुनुपर्छ।”
आयोजनाको प्याकेज र विद्युत्गृहको निरीक्षणका क्रममा आयोजना प्रमुख श्यामजी भण्डारीले हालसम्मको प्रगतिबारे जानकारी गराएका थिए। डा. महतले आयोजनाको प्रगति र यसले मुलुकको ऊर्जा क्षेत्रमा पुर्याउने योगदानको प्रशंसा गरे।