२०८२ असार १७ गते, मंगलवार १०:४३

काठमाडौं –

नेपाली कांग्रेसका सांसद किरणबाबु श्रेष्ठले विपद् व्यवस्थापनमा विगतका कमजोरीबाट पाठ सिक्दै आगामी दिनका लागि प्रभावकारी नीति निर्माण गर्नुपर्नेमा जोड दिएका छन्। बिहीबार बसेको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा बोल्दै उनले विपद्पछिको राहत वितरणका लागि एकद्वार नीति आवश्यक रहेको बताए।

श्रेष्ठले प्राकृतिक विपत्ति रोक्न नसकिए पनि मानवीय कारणले हुने विपत्तिलाई न्यूनीकरण गर्न सचेत र सतर्क हुनुपर्ने बताए। उनले विपद् न्यूनीकरणका लागि पूर्वसूचना प्रणालीको विकासमा जोड दिँदै राम्रा नीतिहरू बने पनि कार्यान्वयनको अभावमा ठूलो क्षति व्यहोर्नुपरेको उल्लेख गरे। साथै, तीन तहका सरकारबीच समन्वयको कमीले उद्धार र राहत कार्यमा समस्या भएको उनको गुनासो थियो।

“विपद्बाट भएको क्षतिको राहत वितरण हरेक वर्ष चुनौती बनेको छ। राहत वितरणमा बाहिर टिका-टिप्पणी हुने गरेको छ। हिजोका गल्ती सच्याउन नसके पनि तिनबाट पाठ सिकेर नीति बनाउनुपर्छ,” उनले भने। “प्राकृतिक विपत्ति रोक्न सकिँदैन, तर मानवीय कारणले हुने विपत्तिलाई सतर्कताले कम गर्न सकिन्छ। बागमती र विष्णुमतीमा हरेक वर्ष बाढी आउँछ, २-४ जनाको मृत्यु हुन्छ, घरहरू डुबानमा पर्छन्। यस्ता समस्याको न्यूनीकरण गर्न नसके गाउँ-बस्तीको कुरा त परको विषय हो।”

उनले विपद् अघि सूचना नदिई आउने भएकाले समयमै तयारी र सजगता अपनाएर क्षति कम गर्न सकिने बताए। भवन निर्माणका नियम कडाइका साथ लागू गर्नुपर्ने र विकसित देशहरूको जस्तो पूर्वसूचना प्रणाली विकासमा ध्यान दिनुपर्ने उनको सुझाव थियो। “नीतिहरू राम्रा छन्, तर व्यवहारमा लागू भएका छैनन्। पहुँच भएका ठाउँमा बारम्बार राहत पुग्छ, तर दुर्गम क्षेत्रमा एकपटक पनि राहत पुग्न गाह्रो छ,” उनले थपे।

तीन तहका सरकारबीच समन्वयको अभावले विपद्का समयमा तत्काल उद्धार र राहत वितरणमा ढिलाइ भएको भन्दै उनले यसतर्फ विशेष ध्यान दिनुपर्नेमा जोड दिए।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस