२०८२ आश्विन २० गते, सोमबार १८:२२

हनी ट्रयापमार्फत ५ लाख ठगी गरेको आरोपमा काठमाडौँमा दुई महिला पक्राउ

काठमाडौँ –

नेपाल प्रहरीले हनी ट्रयापको माध्यमबाट ५ लाख रुपैयाँ ठगी गरेको आरोपमा दुई जना महिलालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा कैलाली घर भई काठमाडौँ महानगरपालिका–५ बस्ने ३४ वर्षीया ममता तामाङ र भक्तपुर नगरपालिका–१७ घर भएकी ३४ वर्षीया आँचल श्रेष्ठ भन्ने आँचल चौगुठी रहेका छन्।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी प्रहरी उपरीक्षक काजीकुमार आचार्यका अनुसार, यी दुई महिलाले सामाजिक सञ्जाल फेसबुकमार्फत पीडितसँग सम्पर्क स्थापित गरेका थिए। त्यसपछि पीडितलाई काठमाडौँको ठमेलस्थित एक होटलमा बोलाएर खाजा र मादक पदार्थ सेवन गर्न लगाएका थिए। पीडित अचेत अवस्थामा पुगेपछि उनीहरूले पीडितको अश्लील फोटो र भिडियो खिचेका थिए।

प्रहरी उपरीक्षक आचार्यले बताएअनुसार, ममता तामाङ र आँचल चौगुठीले ती फोटो र भिडियोको स्क्रिनसट मेसेन्जरमार्फत पीडितलाई पठाएर ‘काठमाडौँमा घर र ४ आना जग्गा दिनुपर्छ, नत्र यौनशोषणको मुद्दा लगाइदिन्छु’ भन्दै धम्की दिएका थिए। उनीहरूले पीडितलाई तत्काल ५ लाख रुपैयाँको चेक काट्नसमेत बाध्य पारेका थिए।

प्रहरीले बुधबार काठमाडौँ महानगरपालिका–११ हनुमानस्थानबाट उनीहरूलाई पक्राउ गरेको हो। पक्राउका क्रममा उनीहरूको साथबाट दुई थान मोबाइल र आँचल चौगुठीको नाममा काटिएको प्राइम कमर्सियल बैंकको ५ लाखको चेक एक थान बरामद भएको छ।

प्रहरी उपरीक्षक आचार्यले उनीहरूमाथि आपराधिक लाभ (एक्सटर्सन) सम्बन्धी मुद्दामा थप अनुसन्धान र कारबाहीका लागि जिल्ला प्रहरी परिसर भद्रकाली पठाइएको जानकारी दिए।

पोडकास्ट सुन्नुहोस