२०८२ असार १६ गते, सोमबार २०:२१

वीरगन्ज–

नेपाल राष्ट्र बैंक, वीरगन्जले आयोजना गरेको एक कार्यक्रममा बैंक तथा वित्तीय संस्था, उद्योगी, र व्यवसायीका प्रतिनिधिहरूसँग मुलुकको आर्थिक अवस्था र बैंकिङ क्षेत्रका समसामयिक विषयमा विस्तृत छलफल भएको छ। कार्यक्रममा राष्ट्र बैंकको भूमिका, उद्योगी-व्यवसायीहरूको अपेक्षा, सुझाव, र गुनासोका साथै वाणिज्य बैंकका मधेश प्रदेश प्रमुख र शाखा प्रबन्धकहरूले राखेका विषयमा गहन चर्चा भएको थियो।

नेपाल राष्ट्र बैंक, वीरगन्जका निर्देशक सुशील पौडेलले मुलुकको आर्थिक अवस्था र राष्ट्र बैंकको समग्र भूमिकाबारे जानकारी दिँदै वाणिज्य बैंकहरूको कार्यशैली र निजी क्षेत्रको भूमिका समयसापेक्ष परिवर्तन हुनुपर्नेमा जोड दिए। उनले वीरगञ्ज कार्यालयले सम्पादन गरिरहेका कार्यहरूबारे पनि प्रकाश पारे।

वीरगन्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष हरिप्रसाद गौतमले यो छलफलले बैंक र उद्योगी-व्यवसायीबीचको सम्बन्धलाई सुदृढ गर्न महत्वपूर्ण भूमिका खेलेको बताए। उनले मुलुकको आर्थिक अवस्था सहज नरहेको उल्लेख गर्दै बैंकिङ प्रणालीलाई व्यवस्थित र निजी क्षेत्रमैत्री बनाउनुपर्नेमा जोड दिए। सङ्घले उद्योगी, व्यवसायी, र बैंकिङ क्षेत्रका फरक धारणालाई एकीकृत गरी समस्याको समाधानका लागि साझा पहल गर्ने संस्थागत अडान राख्दै आएको उनले बताए।

कार्यक्रममा सङ्घका निवर्तमान अध्यक्ष अनिल अग्रवाल, पूर्व अध्यक्ष अशोक वैध, वरिष्ठ उपाध्यक्ष माधव राजपाल, उपाध्यक्षद्वय मनोजकुमार दास र आशिषकुमार लाठ, महासचिव शिवजी प्रसाद साह, कोषाध्यक्ष अनोज रुँगटा, सचिव प्रेमचन्द्र गोयल, सह-कोषाध्यक्ष निरज अग्रवाल, र प्रशासकीय अधिकृत मनोज उपाध्यायले बैंकिङ प्रणाली, उद्योग-व्यवसायको अवस्था, राष्ट्र बैंकका निर्देशिकाहरूको प्रभाव, चालु पूँजी कर्जा निर्देशिकालाई समयसापेक्ष बनाउनुपर्ने, गुनासो सुनुवाइ डेस्क र अनुसन्धान कार्यलाई प्रभावकारी बनाउनुपर्ने जस्ता विषयमा सुझाव राखे।

उद्योगी र व्यवसायीहरूले व्यापार सञ्चालनका क्रममा रकम बोकेर हिँड्नेहरूलाई प्रहरीले हुण्डी कारोबारीको संज्ञा दिएर दुख दिने गरेको गुनासो गरे। उनीहरूले नेपालको मुद्रा भारतमा पनि चल्नुपर्ने र बैंकमार्फत रकम पठाउँदा काटिने १० रुपैयाँ शुल्कप्रति ध्यान दिनुपर्ने बताए।

कार्यक्रममा वाणिज्य बैंकका मधेश प्रदेश प्रमुख र शाखा प्रबन्धकहरूको सहभागिता रहेको थियो।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस