शून्य समयमा सांसदहरू गोमादेवी तिमिल्सिना, कृष्णप्रसाद पौडेल, र उदयबहादुर बोहराले देशभर डेंगु रोगको सङ्क्रमण ७३ जिल्लामा फैलिएको र १,४०० भन्दा बढी व्यक्ति सङ्क्रमित भएको उल्लेख गर्दै नियन्त्रणमा सरकारको पहल कमजोर भएको बताए।
♠ समाचार सारांश | ♠ एआईबाट जेनरेटेड |
|
काठमाडौँ-
राष्ट्रियसभाको आजको बैठकमा सांसदहरूले डेंगु रोग नियन्त्रण, खानेपानी अभाव, सडक अवरोध, र अन्य जनसरोकारका विषयमा सरकारको ध्यानाकर्षण गराएका छन्।

शून्य समयमा सांसदहरू गोमादेवी तिमिल्सिना, कृष्णप्रसाद पौडेल, र उदयबहादुर बोहराले देशभर डेंगु रोगको सङ्क्रमण ७३ जिल्लामा फैलिएको र १,४०० भन्दा बढी व्यक्ति सङ्क्रमित भएको उल्लेख गर्दै नियन्त्रणमा सरकारको पहल कमजोर भएको बताए। उनीहरूले तत्काल प्रभावकारी कदम चाल्न माग गरे।
सांसद जयन्तीदेवी राईले काठमाडौँ उपत्यकामा खानेपानी अभावको समस्या उठाउँदै मेलम्चीको पानी आपूर्ति एक हप्तादेखि बन्द भएकोप्रति चिन्ता व्यक्त गरिन्। उनले तत्काल समाधानको पहल गर्न सरकारलाई आग्रह गरिन्।
सांसद तुलप्रसाद विश्वकर्माले विभिन्न सडकखण्डमा अवरोधका कारण यात्रुले सास्ती खेप्नुपरेको, राजेन्द्रलक्ष्मी गैरेले नारायणगढ–बुटवल सडक स्तरोन्नतिमा ढिलाइ भएको, र दुर्गाकुमारी गुरुङले विद्युत् प्रसारणलाइनको जग्गा अधिग्रहण र मुआब्जा वितरणमा तीव्रता दिनुपर्ने विषय उठाए।
सांसद नरबहादुर विष्टले सरकारले प्रहरीका लागि हतियार खरिद प्रक्रिया अघि बढाएकोप्रति आपत्ति जनाउँदै नागरिकका विकास र आवश्यकतामा ध्यान दिन सुझाए। सांसद भुवनबहादुर सुनारले दलितमाथिको विभेद अन्त्य नभएको, मदनकुमारी शाह गरिमाले बैङ्कको अवकाश कोषलाई स्वेच्छिक रूपमा सञ्चय कोषमा गाभ्नुपर्ने, र मोहम्मद खालिदले सबै प्रदेशमा प्रहरी पदपूर्तिको व्यवस्था मिलाउनुपर्ने माग राखे।
सांसद युवराज शर्माले निजामती र विद्यालय सेवा विधेयकमा सरकारको हस्तक्षेपको आरोप लगाए भने उर्मिला अर्यालले मध्यपूर्वको तनाव रोक्न विश्व शान्तिका लागि पहल गर्नुपर्ने बताइन्। सांसद नारायणदत्त मिश्रले देवघाटमा धार्मिक पर्यटन प्रवद्र्धन र सुरक्षित स्नानको व्यवस्था मिलाउन माग गरे।
आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय सूचना आयोगको आर्थिक वर्ष २०८०–८१ को प्रतिवेदन पेस गर्ने र सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले चलचित्र विधेयक, २०८१ माथि छलफल प्रस्ताव राख्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।