पर्सा-
ठाकुर राम बहुमुखी क्याम्पस, पर्सामा क्याम्पस प्रमुख रञ्जित प्रसाद यादव ‘हराएको’ भन्दै स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) ले विरोध प्रदर्शन गरेको छ। स्ववियु सभापति राजकुमार यादवको नेतृत्वमा विद्यार्थीहरूले व्यङ्ग्यात्मक शैलीमा सूचना प्रकाशित गरी क्याम्पस प्रमुखको अनुपस्थितिप्रति रोष व्यक्त गरेका छन्।

सूचनामा लेखिएको छ, “क्याम्पस चिफ रञ्जित प्रसाद यादव हराउनु भएको छ। खोजीकर्तालाई ५१ रुपैयाँ इनाम दिइनेछ। सम्पर्क नं. ९८४५०३६७६०।”
स्ववियु सदस्य अमित पटेलका अनुसार क्याम्पसमा खानेपानीको चरम अभाव छ। क्याम्पसभित्रका सबै धारा सुकेका कारण विद्यार्थी, होस्टलमा बस्ने विद्यार्थी र कर्मचारीहरूले सास्ती खेपिरहेका छन्। बारम्बार ध्यानाकर्षण गराउँदा पनि क्याम्पस प्रमुख र सम्बन्धित निकायले कुनै चासो नदिएको उनको गुनासो छ।
यसैबीच, असार ३० गतेदेखि सुरु हुने बीबीएस प्रथम वर्षको परीक्षाका लागि धेरै विद्यार्थीको रजिस्ट्रेशन नम्बर अझै प्राप्त भएको छैन। प्राप्त भएका कतिपय नम्बरमा समेत गम्भीर त्रुटि देखिएको छ। यस्तो व्यवस्थापकीय कमजोरीले विद्यार्थीहरू मानसिक तनावमा परेका छन्।
विद्यार्थीहरूले क्याम्पस प्रमुख र परीक्षा प्रमुख दुवैले आफ्नो जिम्मेवारीबाट पन्छिएको आरोप लगाएका छन्। संवेदनशील समयमा परीक्षा व्यवस्थापनमा ध्यान दिनुपर्ने जिम्मेवार व्यक्तिहरू सम्पर्कविहीन भएको भन्दै स्ववियुले कडा कदम चाल्ने चेतावनी दिएको छ।