वीरगन्ज-
वीरगन्ज महानगरपालिकामा बढ्दो खानेपानी संकटको समाधानका लागि बिहीबार सर्वपक्षीय छलफल सम्पन्न भएको छ। महानगर प्रमुख राजेशमान सिंहको अध्यक्षतामा बसेको बैठकमा खानेपानी मन्त्री प्रदीप यादव, विभिन्न राजनीतिक दलका प्रतिनिधि, सुरक्षा निकायका प्रमुख र सरोकारवालाहरू सहभागी थिए।

महानगर प्रमुख सिंहले खानेपानी अभाव भएका क्षेत्रमा ट्यांकरमार्फत दैनिक करिब डेढ लाख लिटर पानी वितरण भइरहेको, पाइपलाइन पुगेका ठाउँमा धारा जडानलाई प्रोत्साहन गर्ने र विभिन्न वडामा डिप बोरिङको पहल भइरहेको जानकारी गराउनुभयो।
खानेपानी मन्त्री प्रदीप यादवले वीरगंजको खानेपानी समस्या समाधानका लागि संघीय सरकार प्रतिबद्ध रहेको बताउँदै स्थानीय तहसँग सहकार्य, स्रोत परिचालन र दीर्घकालीन योजना निर्माणमा जोड दिनुभयो। उहाँले भने, “पानीको तत्काल र दीर्घकालीन समाधानका लागि सरकारले प्राविधिक सहायता र नीति निर्माणमा कुनै कसर बाँकी राख्ने छैन।”
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का जिल्ला अध्यक्ष हरि पन्तले खानेपानी संस्थानमार्फत धारा जडानमा लाग्ने दस्तुर केही समय निःशुल्क गर्न र बाँकी रहेका निवेदनहरू छिटो प्रक्रियामा लैजान माग गर्नुभयो। नेपाली कांग्रेसका नगर सभापति मणिन्द्रलाल श्रेष्ठले पाइपलाइन सुविधा नभएका क्षेत्रमा मात्र डिप बोरिङ र पाइपलाइन भएका ठाउँमा आपूर्ति सुनिश्चित गर्नुपर्ने सुझाव दिनुभयो।
नेकपा (एस) का नेता बालगोपाल थापाले भविष्यमा बन्ने घरहरूमा अण्डरग्राउण्ड ट्यांकी अनिवार्य गर्ने र नक्सा पास प्रक्रियामा यो शर्त राख्नुपर्ने प्रस्ताव राख्नुभयो। उनले भने, “यस्तो व्यवस्थाले भविष्यमा खानेपानी संकट दोहोरिनबाट जोगाउनेछ।”
बैठकमा सहभागीहरूले खानेपानी संकटलाई साझा समस्याका रूपमा लिँदै सहकार्यबाट समाधान खोज्नुपर्ने र वितरण प्रणालीमा राजनीतिक पहुँच वा दबाबको प्रभाव रोक्नुपर्नेमा जोड दिए। महानगरका प्रयासहरू सराहनीय भए पनि थप व्यवस्थित र दीर्घकालीन सोचसहित अघि बढ्नुपर्ने आवश्यकता औंल्याइएको छ।