कराँची-
पाकिस्तानी अभिनेत्री हुमैरा असगर कराँचीको इत्तेहाद कमर्सियल एरिया, फेज ६ मा रहेको एक अपार्टमेन्टमा मृत फेला परेकी छन्। उनको सडेको शव जुलाई ८ मा फेला परेको थियो। प्रहरीका अनुसार उनी विगत ६-७ वर्षदेखि उक्त अपार्टमेन्टमा एक्लै बस्दै आएकी थिइन्।

कराँची प्रहरीका डिपुटी इन्स्पेक्टर जनरल (डीआईजी) सैयद असद रजाले जुलाई ८ मा दिउँसो ३ बजे घटनाबारे जानकारी प्राप्त भएको बताए। छिमेकीहरूले अपार्टमेन्टबाट कुहिएको गन्ध आएको र हुमैरालाई लामो समयदेखि बाहिर नदेखिएको भन्दै शंकास्पद अवस्था देखेपछि प्रहरीलाई खबर गरेका थिए। प्रहरीले ढोका ढकढकाउँदा कुनै प्रतिक्रिया नआएपछि ढोका फोडेर भित्र प्रवेश गर्दा अभिनेत्रीको सडेको शव फेला पारेको थियो।
प्रहरीको प्रारम्भिक अनुमानअनुसार हुमैराको मृत्यु लगभग दुई सातादेखि छ महिनाअघि भएको हुन सक्छ। शवलाई पोस्टमार्टमका लागि जिन्नाह पोस्ट ग्राजुएट मेडिकल सेन्टरमा पठाइएको छ। मेडिकल सेन्टरकी डाक्टर सुमैया सैयदले शव अत्यधिक सडेकाले मृत्युको सही कारण पत्ता लगाउन समय लाग्ने बताएकी छन्। फोरेन्सिक टोलीले अपार्टमेन्टको विस्तृत जाँच गरेको छ, तर ढोका र बालकनी भित्रबाट बन्द रहेकाले जबरजस्ती प्रवेशको कुनै संकेत नभेटिएको प्रहरीले जनाएको छ।
कराँची प्रहरीले पोस्टमार्टम र रासायनिक रिपोर्ट नआउँदासम्म कुनै हल्ला वा अनुमानबाट बच्न सर्वसाधारण र सञ्चारमाध्यमलाई आग्रह गरेको छ। प्रहरीले हाललाई कुनै अपराधिक संलग्नता नभएको प्रारम्भिक निष्कर्ष निकालेको छ।
३२-३५ वर्ष उमेरकी हुमैरा असगर पाकिस्तानको चर्चित रियालिटी शो ‘तमाशा घर’ र फिल्म ‘जलेबी’ मा आफ्नो अभिनयका लागि परिचित थिइन्। उनले ‘जस्ट म्यारिड’, ‘चल दिल मेरे’, ‘एहसान फरामोश’ र ‘गुरु’ जस्ता नाटकहरूमा पनि अभिनय गरेकी थिइन्। उनको मृत्युले पाकिस्तानी मनोरञ्जन उद्योगमा शोकको लहर फैलिएको छ।