२०८२ असार २७ गते, शुक्रबार २०:०६

काठमाडौं –

प्रधानमन्त्री केपी शर्मा ओलीले भक्तपुरको जगातीमा ५० हजार दर्शक क्षमताको फुटबल रंगशाला बनाउने गरी सरकारले ध्यान दिइरहेको बताएका छन् ।

बिहीवार ललितपुरमा नेशनल हाइ पर्फमेन्स सेन्टर एण्ड स्पोट्र्स साइन्स ल्यावको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् । उनले नेपालमा अहिले भएका रंगशालाहरु साना भएको र अब बन्ने रंगशाला ५० हजार दर्शक क्षमता भन्दा माथिका हुने दाबी गरे ।

उनले आफूले भक्तपुरको जगातीमा ५० हजार दर्शक क्षमताको रंगशाला बनाउने गरी सोचिरहेको बताए ।

उनले भने– ‘हाम्रा रंगशालाहरु अब साना भए । अहिलेका रंगशालाहरु साना भए । अब हामी ठूला रंगशाला बनाउँछौँ । मैले सोचेको छु, सूर्यविनायक उतापटि जगाती, चाइनिज इँटाभट्टा भन्ने थिए । त्यस ठाउँमा हामीले रंगशाला बनाउन सक्छौँ । पर्याप्त दर्शक अट्ने खालको रंगशाला बनाउनसक्छौँ । त्यो ठाउँ मैले हेरिरहेको छु । झापामा पूर्वाञ्चलका लागि पनि गहना हुने खालको रंगशाला बनाउँदैछौँ । न्युनतम २५ हजार नभए ५० हजार अट्ने रंगशाला बनाउँछौँ । १५ हजारले हेर्ने खालको रंगशाला होइन कम्तिमा ५० हजारले हेर्ने रंगशाला भन्दा सानो अब हुँदैन ।’

प्रधानमन्त्री ओलीले आफू स्पेन भ्रमणमा जाँदा रियल मड्रिड रंगशालाको अवलोकन गरेको र त्यहाँका खेलाडीहरुलाई आफूले नेपालको खेल क्षेत्रको सहयोगका लागि आउन आग्रह गरेको बताए ।

नेपाली खेलाडी र खेल क्षेत्रको विकासका लागि आगामी आर्थिक वर्षभित्र त्यहाँका खेलाडीहरु ल्याउनसक्ने सम्भावना रहेको बताए ।

प्रतिक्रिया

सम्बन्धित खबर

neelambads

पोडकास्ट सुन्नुहोस