जनकपुर –

जिल्ला प्रहरी कार्यालय धनुषाले प्रहरी वरिष्ठ नायब निरीक्षक सागर शमशेर जबरालाई असार महिनाको ‘पुलिस अफ दि मन्थ’ घोषित गरेको छ। अपराध नियन्त्रण तथा अनुसन्धान शाखामा कार्यरत सागरले उत्कृष्ट कार्यसम्पादनमार्फत प्रहरी सङ्गठनको छवि उच्च राख्न महत्त्वपूर्ण योगदान पुर्याएको प्रहरीले जनाएको छ।
धनुषा प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) नरहरि रेग्मीका अनुसार, सागरले गम्भीर अपराधका घटनाहरूको अनुसन्धानमा सक्रिय भूमिका निर्वाह गरेका छन्। गत चैत १७ गते लक्ष्मिनिया गाउँपालिका–५ बनिनियाँमा श्रीमती अञ्जली यादवको हत्या गरी शव गाडेको आशङ्कामा हरिराम यादवलाई पक्राउ गर्न सागरको भूमिका महत्त्वपूर्ण थियो। त्यस्तै, असार १८ गते जनकपुर उपमहानगरपालिका–१५ मा वासुदेव साहमाथि चक्कु प्रहार गरी फरार बेचन महासेठलाई खजुरी रेल्वे स्टेसनबाट पक्राउ गर्न र ठगी, आपराधिक विश्वासघात, र विद्युतीय अपराधमा फरार हनिफ नदाफलाई नियन्त्रणमा लिन उनको योगदान उल्लेखनीय रहेको छ।
एसपी रेग्मीले सागरको व्यावसायिक कुशलता र जिम्मेवारीप्रतिको लगनले प्रहरीको छवि उज्ज्वल बनाउन र जनविश्वास बढाउन योगदान पुर्याएको बताए। “उनको कार्यले समाजमा सकारात्मक सन्देश प्रवाह भएको छ,” रेग्मीले भने। यो सम्मानले प्रहरी सङ्गठनभित्र उत्कृष्ट कार्य गर्नेहरूलाई प्रोत्साहन गर्ने अपेक्षा गरिएको छ।