वीरगन्ज-
नेपाल इन्जिनियर्स एसोसिएसन वीरगन्ज केन्द्रको कार्यकारिणी समितिको निर्वाचनमा गठबन्धन समूहका उम्मेदवारहरू विजयी भएका छन्। विभिन्न राजनीतिक दल निकट इन्जिनियर्स र भ्यालुएटर सङ्गठनको गठबन्धनबाट उम्मेदवारी दिएका उम्मेदवारहरूले स्वतन्त्र प्यानलका प्रतिद्वन्द्वीहरूलाई पराजित गर्दै समितिमा आफ्नो वर्चस्व कायम गरेका छन्।
निर्वाचनमा सभापतिमा प्रियान्शु गुप्ता रौनियार विजयी भएका छन्। उनले १२६ मत प्राप्त गरी निकटतम प्रतिद्वन्द्वी धिरज कुमार साहलाई ३० मतले हराए। उपसभापतिमा श्याम किशोर प्रसाद दास निर्वाचित भए भने सचिवमा मनिष प्रसाद केशरी र कोषाध्यक्षमा मोहम्मद इकवाल हुसेन विजयी भएका छन्। सदस्य पदमा रबी कुमार पटेल, रुपेश कुमार चौरसिया, राज गिरी, कृष्णा सर्राफ र राम श्याम कुमार यादव निर्वाचित भएका छन्।
निर्वाचन शुक्रबार वीरगन्जस्थित वीरगन्ज इन्स्टिच्युट अफ टेक्नोलोजीमा सम्पन्न भएको थियो र मत परिणाम शनिबार बिहान सार्वजनिक गरिएको हो। विजयी भएका उम्मेदवारहरूले आगामी दिनमा इन्जिनियर्सहरूको हकहित र व्यावसायिक विकासमा योगदान दिने अपेक्षा गरिएको छ।